२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • पश्चिम एसियामा श्रम स्वीकृति पुनः खुला,...

पश्चिम एसियामा श्रम स्वीकृति पुनः खुला, नयाँ श्रमिक पनि जान पाउने

पश्चिम एसियामा श्रम स्वीकृति पुनः खुला, नयाँ श्रमिक पनि जान पाउने

सहर्ष न्युज
मंगलवार, बैशाख ८ २०८३
सहर्ष न्युज
मंगलवार, बैशाख ८ २०८३
  • काठमाडौँ : वैदेशिक रोजगार विभागले पश्चिम एसियाका विभिन्न देशमा जाने नेपाली श्रमिकका लागि नयाँ तथा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ। यसअघि बिदामा नेपाल आएका र पुनः फर्किने श्रमिकका लागि मात्र स्वीकृति दिँदै आएको विभागले अब नयाँ श्रमिकलाई पनि अनुमति दिने व्यवस्था लागू गरेको हो।

    सरकारले पश्चिम एसियामा देखिएको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै गत फागुन १७ देखि साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा जाने सबै प्रकारका श्रम स्वीकृति स्थगित गरेको थियो।

    पछि विभागले चरणबद्ध रूपमा पुनः श्रम स्वीकृति खुला गरेको थियो। चैत ५ देखि साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः स्वीकृति खुलाइएको थियो भने इजरायल, कुवेत, बहराइन र लेबनानका लागि चैत ३० देखि लागू गरिएको थियो।

    अब भने नयाँ श्रमिकका लागि पनि एकैपटक श्रम स्वीकृति खुला गरिएको विभागले जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको फागुन १७ को मन्त्रीस्तरीय निर्णयअनुसार यो व्यवस्था लागू गरिएको विभागकी महानिर्देशक मीरा आचार्यले जानकारी दिएकी छन्।

    यसैबीच, इराकका सन्दर्भमा भने मन्त्रिपरिषद्को पुस ११ को निर्णयअनुसार श्रम स्वीकृति प्रदान गरिनेछ। यसअघि इराकमा काम गरी ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका तथा बिदामा नेपाल आएर पुनः फर्किन चाहने श्रमिकलाई मात्र स्वीकृति दिइँदै आएको थियो।

    सरकारको नयाँ निर्णयसँगै पश्चिम एसियामा रोजगारीका अवसर पुनः विस्तार हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend