२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकर,...

सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकर, दैनिक मूल्य सीमा १५ प्रतिशत पुग्ने

सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकर, दैनिक मूल्य सीमा १५ प्रतिशत पुग्ने

सहर्ष न्युज
शनिवार, बैशाख ५ २०८३
सहर्ष न्युज
शनिवार, बैशाख ५ २०८३
  • नेप्सेको संशोधित विनियमावली लागू पछि बजार थप चलायमान हुने अपेक्षा

     काठमाडौं । आगामी सोमबारदेखि नेपालमा सेयर बजार कारोबारमा नयाँ सर्किट ब्रेकर तथा मूल्य सीमासम्बन्धी व्यवस्था लागू हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गर्दै सूचीकृत कम्पनीहरूको सेयर मूल्य अब एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था गरेको हो।

    नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृतिपछि लागू हुन लागेको ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ अनुसार दैनिक मूल्य उतारचढावको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ।

    नेप्सेका अनुसार नयाँ व्यवस्थाले बजारलाई थप गतिशील बनाउने र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउने अपेक्षा गरिएको छ। साथै, प्रि–ओपन सेसनमा मूल्य सीमा दुई प्रतिशतबाट बढाएर पाँच प्रतिशत कायम गरिएको छ, जसले बजार खुल्दा हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

    सर्किट ब्रेकर प्रणालीमा पनि महत्वपूर्ण परिवर्तन गरिएको छ। कारोबार सुरु भएको दुई घण्टाभित्र बजार सूचक पाँच प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ। यदि सूचक आठ प्रतिशतले घटबढ भएमा भने सो दिनको सम्पूर्ण कारोबार बन्द गरिने व्यवस्था गरिएको छ।

    यसअघि रहेको ४, ५ र ६ प्रतिशतका तीन तहको सर्किट प्रणाली हटाएर अब दुई तह (५% र ८%) मात्र कायम गरिएको छ। नयाँ व्यवस्थाले सेयर मूल्यलाई वास्तविक माग–आपूर्ति अनुसार छिटो समायोजन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

    विश्लेषकहरूका अनुसार मूल्य दायरा विस्तार भएपछि खरिदबिक्रीका अवसर बढ्ने, लगानीकर्ताले छिटो प्रवेश र बहिर्गमन गर्न सक्ने तथा कारोबारको मात्रा बढ्ने सम्भावना रहन्छ। साथै, जटिल सर्किट प्रणाली हटेसँगै बजार अवरोध कम भई कारोबार थप सहज हुने विश्वास गरिएको छ।

    नयाँ व्यवस्थामार्फत सेबोनले नियामक दायराभित्र रहेर बजारलाई थप लचिलो, गतिशील र आधुनिक बनाउने लक्ष्य लिएको छ। यद्यपि, बढ्दो उतारचढावसँगै लगानीकर्ताले जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend