२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • २४ घण्टाभित्र लाइसेन्स छाप्ने व्यवस्था लागू,...

२४ घण्टाभित्र लाइसेन्स छाप्ने व्यवस्था लागू, असारभित्र सबै वितरण गर्ने लक्ष्य

२४ घण्टाभित्र लाइसेन्स छाप्ने व्यवस्था लागू, असारभित्र सबै वितरण गर्ने लक्ष्य

सहर्ष न्युज
शुक्रवार, बैशाख ४ २०८३
सहर्ष न्युज
शुक्रवार, बैशाख ४ २०८३
  • काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिएका छन्।

    निरीक्षणका क्रममा उनले ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू गरिएको जानकारी दिए। लामो समयदेखि लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको बताए।

    “अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन्। लामो समयदेखि लाइसेन्स नपाउने समस्या अब अन्त्य भएको छ,” मन्त्री तिमिल्सिनाले भने।

    उनले सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै विगतमा इच्छाशक्ति र व्यवस्थापनको अभावका कारण काम ढिला भएको स्वीकार गरे। अब ती समस्या समाधान गर्दै अघि बढ्ने उनको भनाइ थियो।

    अर्बौं रुपैयाँ खर्च गरेर खरिद गरिएका उपकरण लामो समयदेखि प्रयोगविहीन रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले तिनलाई सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको बताए। करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोगमा नआउनु दुःखद भएको भन्दै अब त्यसको प्रभावकारी उपयोग गरिने उनले स्पष्ट पारे।

    मन्त्री तिमिल्सिनाले केन्द्रलाई नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्दै सेवाग्राहीमैत्री सेवा दिन निर्देशन दिए। साथै, सेवा प्रवाहमा देखिएका गुनासा छिटो समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

    उनले देशभर इन्टरनेट र मोबाइल सेवाको पहुँच तथा गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको बताउँदै आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य राखिएको जानकारी दिए।

    केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउन योजना तयार भइरहेको छ। भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्ट कार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता महत्वपूर्ण कागजात छाप्ने क्षमता विकास गरिएको छ।

    हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ। विदेश जाने नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको र वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छापिसक्ने तथा बाँकी १७ लाख असार मसान्तसम्म पूरा गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend