गुल्मी–काठमाडौँ उडान विस्तार, इन्धन महँगिएपछि टिकट दर ३ हजारभन्दा बढीले बढ्यो
गुल्मी : गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब साप्ताहिक चार उडान सञ्चालन हुने भएको छ। यसअघि तीन उडान हुँदै आएकोमा नयाँ तालिकाअनुसार आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने व्यवस्था मिलाइएको हो।
रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाका अनुसार उडान संख्या बढेसँगै हवाई भाडामा भने उल्लेख्य वृद्धि भएको छ। हवाई इन्धनको मूल्य बढेसँगै नयाँ भाडादर लागू गरिएको उनले जानकारी दिए।
नयाँ दरअनुसार गुल्मी–काठमाडौँका लागि १० हजार ७ सय रुपैयाँ र काठमाडौँ–गुल्मीका लागि १० हजार ९ सय रुपैयाँ कायम गरिएको छ। यसअघि भने गुल्मी–काठमाडौँ ७ हजार ३ सय रुपैयाँ र काठमाडौँ–गुल्मी ७ हजार ५ सय रुपैयाँ रहेको थियो।
हाल रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनअटर जहाजले नियमित उडान भर्दै आएको छ। काठमाडौँबाट बिहान ६:३० बजे र रेसुङ्गाबाट बिहान ७:३० बजे उडान हुने गरेको छ।
पहाडी जिल्ला हवाई सेवासँग जोडिएपछि पर्यटक आगमनमा वृद्धि भएको र यात्रुको चाप समेत बढेको विमानस्थलले जनाएको छ। यद्यपि, खराब मौसमका कारण कहिलेकाहीँ उडान प्रभावित हुने गरेको छ। दुई वर्षअघि मात्रै यहाँ नियमित उडान सुरु गरिएको थियो।
