२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • आजदेखि देशभर आर्थिक गणना हुँदै, पाँच...

आजदेखि देशभर आर्थिक गणना हुँदै, पाँच हजार जनशक्ति परिचालन

आजदेखि देशभर आर्थिक गणना हुँदै, पाँच हजार जनशक्ति परिचालन

सहर्ष न्युज
बुधवार, बैशाख २ २०८३
सहर्ष न्युज
बुधवार, बैशाख २ २०८३
  • काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गणनाका लागि खटिएका गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् र स्थलगत तथ्याङ्क सङ्कलन कार्य प्रारम्भ भइसकेको छ।

    निर्धारित कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलन आगामी असारको पहिलो साताभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ। यस अभियानका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।

    अर्थ मन्त्रालयले औद्योगिक तथा समग्र आर्थिक क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा सबैको सहयोग आवश्यक रहेको जनाएको छ।

    गणनाका क्रममा उद्योग, व्यापार, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थान लगायत आर्थिक क्षेत्रका १८ वटा विभिन्न पक्षसम्बन्धी आधारभूत विवरण सङ्कलन गरिनेछ। यसमा संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी अवस्था, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विवरण समेटिनेछन्।

    त्यसैगरी, देशभर दर्ता भएका वा नभएका साना–ठूला व्यापार प्रतिष्ठान, रोजगारी सिर्जना गर्ने संस्था, स्वरोजगारमा आधारित व्यवसाय, उद्योग–कलकारखाना, गैरसरकारी संस्था, सरकारी संस्थान, विद्यालय तथा अस्पतालहरू समेत गणनामा समावेश गरिनेछन्।

    आर्थिक गणनाको तयारीस्वरूप आवश्यक पूर्वकार्य गत फागुन मसान्तमै सम्पन्न भइसकेको थियो। चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी कुल ८४ वटा कार्यालय स्थापना गरिएका छन्, जुन असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।

    यसअघि २०७५ सालमा गरिएको राष्ट्रिय आर्थिक गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। यसपटकको गणनाले मुलुकको अद्यावधिक आर्थिक अवस्थाबारे थप स्पष्ट चित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend