२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • कालीगण्डकी जलाशययुक्त आयोजना अब ६४० मेगावाटमा...

कालीगण्डकी जलाशययुक्त आयोजना अब ६४० मेगावाटमा सीमित, अध्ययनपछि क्षमता घटाइयो

कालीगण्डकी जलाशययुक्त आयोजना अब ६४० मेगावाटमा सीमित, अध्ययनपछि क्षमता घटाइयो

सहर्ष न्युज
सोमवार, चैत्र ३० २०८२
सहर्ष न्युज
सोमवार, चैत्र ३० २०८२
  • काठमाडौं : प्रस्तावित कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अब ६४० मेगावाट क्षमतामा निर्माण गरिने भएको छ। सुरुवातमा ८४४ मेगावाट क्षमताको रूपमा प्रस्ताव गरिएको यो आयोजना विस्तृत अध्ययनका क्रममा क्षमता घटाएर ६४० मेगावाट कायम गर्नु उपयुक्त ठहर गरिएको हो।

    हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयार पार्ने कार्य भइरहेको छ। प्रस्तावित बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटर माथि उर्लेनी–खङ्गकोट क्षेत्रमा पर्नेछ, जुन गुल्मीको कालीगण्डकी गाउँपालिका–६ र पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरमा अवस्थित छ। आयोजनाअन्तर्गत २४४ मिटर अग्लो बाँध निर्माण गरिनेछ।

    बाँध निर्माणपछि करिब २९ किलोमिटर लामो जलाशय खनियाघाटसम्म फैलिनेछ। आयोजनाको नेट हेड १८३.४ मिटर रहनेछ भने पानी बहाव (डिस्चार्ज) ४०५ घनमिटर प्रतिसेकेन्ड रहनेछ। यसबाट वार्षिक करिब १,६४५.६५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

    प्राविधिक संरचनाअन्तर्गत चारवटा स्टिल पेनस्टक र चारवटा फ्रान्सिस टर्बाइनसहितको विद्युत्गृह निर्माण गरिनेछ, जसको स्थान पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरमा प्रस्ताव गरिएको छ।

    आयोजनाबाट पर्वतका जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र बिहादी गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछन्। त्यस्तै, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका केही क्षेत्र, गुल्मीको कालीगण्डकी गाउँपालिका तथा स्याङ्जाको गल्याङ नगरपालिका पनि प्रभावित हुनेछन्।

    आयोजनाको सम्भाव्यता अध्ययन तथा वातावरणीय मूल्याङ्कन विद्युत् विकास विभाग र परामर्शदाता संयुक्त उपक्रम स्मेक इन्टरनेसनल तथा जेड कन्सल्टले गरिरहेका छन्।

    प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक, कालीगण्डकी लोकमार्ग र कालीगण्डकी करिडोर हुँदै पहुँचयोग्य रहनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend