काठमाडौं । ७३औं राष्ट्रिय सिँचाइ दिवसको अवसरमा बुधबार आयोजित विशेष कार्यक्रममा उत्कृष्ट सिँचाइ आयोजना तथा उपभोक्ता संस्थाको छनोट गरी सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठको उपस्थिति थियो । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सुनकोशी–मरिन बहुउद्देशीय आयोजनाको पुनः ठेक्का प्रक्रिया ९० दिनभित्र सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उनले भेरी–बबई आयोजनालाई आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको पनि बताउनुभयो ।

उत्कृष्ट आयोजना छनोटतर्फ सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, कास्की उत्कृष्ट आयोजनाको रूपमा छनोट भएको थियो । सो अवसरमा आयोजना प्रमुख विदुरमान श्रेष्ठले सम्मानपत्र ग्रहण गर्नुभएको थियो ।
त्यसैगरी, उपभोक्ता संस्थातर्फ सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, लमही, दाङ अन्तर्गतको प्रगण्डा कुलो जलउपभोक्ता संस्था प्रथम स्थानमा छनोट भएको थियो । उक्त सम्मानपत्र आयोजना प्रमुख निश्चल छतकुलीले ग्रहण गर्नुभएको थियो ।

७३औं सिँचाइ दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइएको छ । यस वर्षको दिवसले जलस्रोतको व्यवस्थित उपयोग गर्दै कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ । कार्यक्रममा सिँचाइ क्षेत्रका उपलब्धि, चुनौती तथा भावी योजनाहरूबारे छलफलसमेत भएको थियो ।
