काठमाडौं । आज विभिन्न कार्यक्रमको आयोजना गरी देशैभरी सिंचाई दिवस मनाइदैछ । सिंचाई दिवसलाई औपचारिकरुपमा मनाउन जलस्रोत तथा सिंचाई विभागको आयोजनामा दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ । यसैबीच आज सिंचाई विभागको ७३औं बार्षिकोत्सव कार्यक्रम समेत रहेको छ ।
सो अवसर पारेर विभागले रक्तदान कार्यक्रम, आँखा तथा कान चेक जाँचको कार्यक्रम पनि राखेको छ ।
त्यस्तै विभागमा हुने मूख्य कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा एक भब्य कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा सार्वजानिक सेवा आयोगका सदस्य माधब बेलवासेलगायत आधा दर्जनजति व्यक्तित्वहरु विशिष्ट अतिथिको रुपमा उपस्थिति हुँदैछ ।
कार्यक्रमलाई सभ्य र भब्य बनाउन विभागले मातहतका सबै कर्मचारीहरुलाई निर्देशन जारी गरेको छ ।
कार्यक्रममा सिंचाईसँग सम्बन्धित विविध विषयमा छलफल समेत हुने कार्यक्रम रहेको सिंचाई विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए । सोही कार्यक्रममा प्रमुख अतिथि मन्त्री श्रेष्ठबाट 'नेपालमा परम्परागत सिँचाइः कुलापानी व्यवस्थापन' नामको पुस्तक विमोचन, अवार्ड वितरणलगायतका कार्यक्रम रहेको महानिर्देशक बरालको भनाई छ ।
त्यसैगरी सबै प्रदेशमा रहेका सिंचाई मन्त्रालयले विशेष कार्यक्रमको आयोजना गरी सिंचाई दिवस मनाउने कार्यक्रम तय भएका छन् ।
यसपटकको नारा 'जलस्रोतको व्यवस्थित उपयोग समृद्ध देश निर्माणमा सहयोग’ रहेको छ ।
ती कार्यक्रममा सिंचाईसँग सम्बन्धित कार्यालयका प्रमुख तथा कर्मचारीहरुसमेतको सहभागितामा सिंचाई दिवस मनाउँदै आइरहेको छ । यसैक्रममा छलफल तथा विचार विर्मश हुने छन् । उक्त छलफल कार्यक्रममा सहभागिता जनाउन अधिकांश कार्यालयबाट पायक पर्ने मन्त्रालय तथा विभागमा कार्यालय प्रमुखहरु कार्यक्रमस्थलमा गएको बुझिएको छ । तथापी कार्यालय भने खुलै रहेने जनाइएको छ ।
