काठमाडौं । रामचन्द्र पौडेल समक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई शपथ गराएका हुन्।
नवनियुक्त मन्त्रिपरिषद्मा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुधन गुरुङ, कानूनमन्त्री सोविता गौतम, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी, भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, स्वास्थ्यमन्त्री निशा मेहता, पर्यटनमन्त्री गनेस पौडेल, शिक्षामन्त्री सस्मित पोखरेल, सञ्चारमन्त्री बिक्रम तिमिल्सिना, श्रममन्त्री दीपक शाह तथा कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरी रहेका छन्।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारी तथा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए।
यसपटक प्रधानमन्त्रीको शपथग्रहण पहिलोपटक वैदिक सनातन परम्पराको झल्को दिने गरी विशेष ढंगले सम्पन्न गरिएको थियो। समारोहमा सात वटा शङ्खबाट शङ्खनाद गरिनुका साथै १०८ जना वटुकद्वारा स्वस्तिशान्ति वाचन र १०८ जना बौद्ध भिक्षु लामाबाट शुभमंगल पाठ गरिएको थियो।
नयाँ सरकार गठनसँगै मुलुकको शासन सञ्चालन, नीतिगत प्राथमिकता र विकास कार्यक्रमप्रति जनचासो बढेको छ।
समाचार स्रोतका अनुसार अन्तिम समयमा आएर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी पाएका डा.अमरेशकुमार सिंह मन्त्री मण्डलको सूचिबाट हटाइएको छ । सिंहले पाउने मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री साह आफैंले लिएका छन् ।
