काठमाडौं । एन आई सी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा सम्पन्न उक्त अभियान अन्तर्गत बैंकका सातै प्रदेशमा रहेका शाखाहरूले स्थानीय विद्यालय तथा कलेजहरूमा पुगेर विद्यार्थी तथा युवाहरूलाई सहभागी गराउँदै वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेका थिए।
बैंकका अनुसार, अभियान अन्तर्गत सञ्चालन गरिएका ६७ भन्दा बढी कार्यक्रममार्फत देशभरका ४ हजार १ सयभन्दा बढी विद्यार्थी तथा युवाहरू लाभान्वित भएका छन्। यी कार्यक्रमहरूले सहभागीहरूमा वित्तीय ज्ञान, सीप तथा सकारात्मक मनोवृत्तिको विकास गर्न सहयोग पुर्याएको जनाइएको छ।
यसैबीच, वित्तीय साक्षरता तथा जनचेतना अझ व्यापक बनाउने उद्देश्यले बैंकले विभिन्न जानकारीमूलक सामग्री तयार गरी आफ्ना सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेको थियो।
यस अभियानले बालबालिका, विद्यार्थी तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना तथा वित्तीय ज्ञान अभिवृद्धिमा उल्लेखनीय योगदान पुगेको बैंकले विश्वास व्यक्त गरेको छ।
