काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) नियन्त्रणका लागि आवश्यक सहयोग गर्न सर्वसाधारण तथा सरोकारवालासँग आग्रह गरेको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सूचीमा परेका व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित गतिविधि तथा सूचीकरणका मापदण्डमा पर्न सक्ने कुनै सूचना वा आधार प्राप्त भएमा सो जानकारी गोप्य रूपमा उपलब्ध गराउन अनुरोध गरिएको छ।
त्यस्तै, कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो कार्यसम्पादनका क्रममा कुनै प्रकारको अनाधिकृत गतिविधि गरेको पाइएमा त्यसबारे जानकारी दिन पनि मन्त्रालयले आह्वान गरेको छ।
मन्त्रालयले यस्ता सूचनाहरू नजिकको जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा उपलब्ध गराउन आग्रह गरेको छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा निवारण नियमावली, २०८१ अनुसार उक्त अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

