ताप्लेजुङ । पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुन तथा चाँदी रिफाइन (प्रशोधन) गर्ने कार्य सुरु गरिएको छ। बुधबारदेखि सुरु गरिएको यो प्रक्रिया पाथीभरा क्षेत्र विकास समितिको पहलमा अघि बढाइएको हो ।
सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेका अनुसार हाल करिब ६७ तोला सुन र ४३ केजी चाँदी रिफाइन गरिँदैछ। २०८० पुस २५ गतेयता दर्शनार्थीले चढाएको बहुमूल्य धातुहरूलाई प्रशोधन गर्न थालिएको हो।
समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार जिल्लाका सुनचाँदी व्यवसायीहरूको प्राविधिक सहयोगमा रिफाइनको काम भइरहेको छ। उक्त प्रक्रिया सम्पन्न हुन करिब एक साता लाग्ने अनुमान गरिएको छ।
यसअघि रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन समितिले भण्डारण गरेर राखेको छ, जुन हाल लिलामी प्रक्रियामा रहेको छ। चाँदी भने यसअघि नै लिलामी भइसकेको बताइएको छ।
समितिले पछिल्लो समय रिफाइन गरिएको सुन तथा चाँदीलाई पनि आगामी दिनमा लिलामी गर्ने योजना बनाएको जनाएको छ।
