२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • देशैभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु, रास्वपा...

देशैभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु, रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान

देशैभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु, रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान

सहर्ष न्युज
बिहिवार, फाल्गुण २१ २०८२
सहर्ष न्युज
बिहिवार, फाल्गुण २१ २०८२
  • काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभरका मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। मुलुकका सबै ७७ जिल्लामा एकै चरणमा मतदान प्रारम्भ भएको हो भने मतदान प्रक्रिया अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

    संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेका छन्।

    यस पटकको निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भइरहेको छ। प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा छन्।

    प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्, जसमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य उम्मेदवार रहेका छन्। त्यस्तै समानुपातिक प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार १,७७२ महिला गरी कुल तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

    निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्। साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता पनि कायम गरिएको छ।

    देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। यसका अतिरिक्त १४३ अस्थायी मतदानस्थल पनि व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

    निर्वाचनको सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको छ।

    निर्वाचन सम्पन्न गराउन देशभर करिब दुई लाख १५ हजार कर्मचारी खटिएका छन्। आयोगले प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सबै मतदान केन्द्रमा पुर्‍याइसकेको जनाएको छ।

    यस पटकको निर्वाचनको अनुगमनका लागि चार अन्तर्राष्ट्रिय तथा ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन्।

    रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गर्नुभएकोे छ ।

    मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गर्नुभयो ।  अध्यक्ष लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।

    यसैगरी, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ ।काठमाडौँ महानगरका पूर्वप्रमुख शाह झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार हुनुहुन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend