हुम्ला : निर्वाचन नजिकिँदै जाँदा यात्रु चाप बढेपछि नेपालगन्जबाट सिमकोट जाने हवाई भाडा उल्लेख्य रूपमा वृद्धि भएको छ। यसअघि करिब ९ हजार रुपियाँ रहेको टिकट भाडा हाल बढेर १४ हजार रुपियाँ पुगेको यात्रुहरूले बताएका छन्।
आइतबार नेपालगन्जबाट सिमकोट आइपुगेका सोनाम तामाङका अनुसार उनले १४ हजार रुपियाँ तिरेर टिकट किनेका हुन्। चार दिनसम्म नेपालगन्जमा बस्नुपरेपछि अन्ततः चार्टर उडानको टिकट पाएर हुम्ला आउन सकेको उनले जानकारी दिए। उनका अनुसार आफ्नो समूहका १४ जनाले नै प्रतिव्यक्ति १४–१४ हजार रुपियाँ तिरेका छन्।
नेपालगन्ज–सिमकोट उडान करिब ४०–४५ मिनेटमा पूरा हुन्छ। यसअघि निजी एयरलाइनहरूले हप्तामा एक दिन सेड्युल उडान भर्दै आएका थिए। तर निर्वाचनको समय नजिकिएसँगै यात्रु संख्या बढेपछि सेड्युल उडान बन्द गरी चार्टर उडान मात्र सञ्चालन गरिएको छ।
एयरलाइन कम्पनीहरूका अनुसार सिमकोटबाट नेपालगन्ज फर्कने यात्रु संख्या कम हुने भएकाले चार्टर उडान गर्नुपरेको हो। सेड्युल उडानमा इन्धन मूल्य समायोजन गर्न नसकिने भएकाले चार्टरमार्फत भाडा निर्धारण गर्न बाध्य भएको उनीहरूको भनाइ छ।
हाल सिता, समिट र तारा एयरले पालैपालो दिनमा एउटा मात्र उडान सञ्चालन गरिरहेका छन्। यद्यपि मतदानका लागि हुम्ला आउने यात्रु संख्या धेरै भए पनि उडान संख्या नबढाइएको भन्दै यात्रुहरूले असन्तुष्टि जनाएका छन्।
