२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • गोरखा–२ बाट प्रतिनिधिसभाका उम्मेदवार लेखनाथ न्यौपाने...

गोरखा–२ बाट प्रतिनिधिसभाका उम्मेदवार लेखनाथ न्यौपाने भन्नुहुन्छ : ‘गोरखाली जनताको माया नै मेरो बल’

गोरखा–२ बाट प्रतिनिधिसभाका उम्मेदवार लेखनाथ न्यौपाने भन्नुहुन्छ : ‘गोरखाली जनताको माया नै मेरो बल’

सहर्ष न्युज
मंगलवार, फाल्गुण १२ २०८२
सहर्ष न्युज
मंगलवार, फाल्गुण १२ २०८२
  • सुष्मा सापकोटा, गोरखा । गोरखाको राजनीतिक भूमिमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएका लेखनाथ न्यौपाने पहिलो पटक जनमतको औपचारिक परीक्षामा उत्रिएका छन्। ३६ वर्षे राजनीतिक यात्रापछि उनी प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

    विद्यार्थी जीवनदेखि नै वैचारिक संघर्षमा सक्रिय न्यौपानेका लागि यो उम्मेदवारी केवल पदको दाबी नभई दीर्घकालीन राजनीतिक प्रतिबद्धताको सार्वजनिक मूल्याङ्कनसमेत हो।

    विद्यार्थी राजनीतिदेखि केन्द्रीय नेतृत्वसम्म

    वि.सं. २०३० चैत २८ गते गोरखाको सिरानचोक–३, हर्मीमा जन्मिएका न्यौपानेले पालुङटारस्थित आँप पीपलको जनता माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका हुन्। कक्षा ९ देखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनी क्याम्पस जीवनसँगै अनेरास्ववियु (क्रान्तिकारी) मा आबद्ध भएका थिए।

    उनले महेन्द्ररत्न क्याम्पस एकाइ अध्यक्ष, काठमाडौं जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। संगठन निर्माण र वैचारिक बहसमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

    भूमिगत राजनीति र जेल जीवन

    न्यौपानेको राजनीतिक औपचारिकता वि.सं. २०४७ मा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यताबाट सुरु भएको थियो । त्यसपछि नेकपा (माओवादी)का विभिन्न तह र जिम्मेवारीमा रहँदै उहाँले ललितपुर र मकवानपुर जिल्ला इन्चार्जको भूमिका निर्वाह गर्नुभयो । पार्टी एकीकरणपछिको नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपाको केन्द्रीय सदस्यका रूपमा समेत उहाँले योगदान दिँदै आउनुभएको छ ।

    राजनीतिक संघर्षकै क्रममा २०५४ देखि २०५८ सालसम्म विभिन्न मुद्दामा चार वर्ष जेल जीवन बिताएका न्यौपाने रिहाइपछि पनि जोखिमपूर्ण अवस्थाबाट गुज्रिए। टाउकोको मूल्य तोकिएको अवस्थासमेत सामना गरे पनि उनले आफ्नो वैचारिक अडान त्यागेनन्।
    ५२ वर्षीय न्यौपानेले त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर उत्तीर्ण गरेका छन्। उनी बौद्धिक र आलोचनात्मक चेत भएका नेताका रूपमा चिनिन्छन्।

    स्वतन्त्र मतदान र ह्विपमाथि बहसको एजेन्डा

    हाल चुनावी प्रचारमा व्यस्त न्यौपाने मतदातालाई स्वतन्त्र र सचेत मतदानका लागि प्रेरित गरिरहेका छन्। पैसाको प्रलोभन र झुटा आश्वासनको राजनीतिविरुद्ध स्पष्ट आवाज उठाउँदै आएका उनले संसद् पुगेपछि दलगत ह्विपको सीमाबारे बहस चलाउने बताएका छन्।

    उनका अनुसार राष्ट्रियता, परराष्ट्र नीति र जनजीविकासँग सम्बन्धित विषयमा स्वतन्त्र चिन्तन आवश्यक छ र आफू त्यसैका पक्षमा उभिनेछन्।

    ‘गोरखाली जनताको माया नै मेरो बल’

    यसपटकको निर्वाचन न्यौपानेका लागि प्रतिस्पर्धा मात्र नभई विचार र निष्ठाको परीक्षा बनेको छ। उनले गोरखाली जनताको मायाले आफू विजयी हुने दाबी गरेका छन्।

    गोरखा–२ का मतदाताले उनको लामो राजनीतिक संघर्षलाई कस्तो जनादेश दिन्छन् भन्ने निर्णय भने आगामी फागुन २१ गतेको मतपरिणामले तय गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend