२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाचार
  • 'आधारभूत सेवा, रोजगारी र बाढी नियन्त्रण...

'आधारभूत सेवा, रोजगारी र बाढी नियन्त्रण पहिलो प्राथमिकता'

'आधारभूत सेवा, रोजगारी र बाढी नियन्त्रण पहिलो प्राथमिकता'

सहर्ष न्युज
सोमवार, फाल्गुण ११ २०८२
सहर्ष न्युज
सोमवार, फाल्गुण ११ २०८२
  • चुनावी अभियानलाई कसरी अगाडि बढाइरहनुभएको छ ?

    मतदाताहरुसँग भेटघाट र घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छौं । अहिलेसम्म हामी उदयपुरको १ नं. क्षेत्रका लगभग सबै ठाउँमा पुगिसकेका छौं । प्रत्येक घर घरमा पुग्न सक्ने अवस्था अहिले छैन । चुनाव धेरै नै नजिक आइसकेको छ । त्यही भएर हामीले हाम्रो क्षेत्रका विशेष ठाउँ तोकेर चुनावी अभियान चलाइरहेका छौं । जस्तो कि बेलका नगरपालिकामा रामपुर, सिसुवा, भागलपर, पुरन्दह, आम्बासी जस्ता ठाउँहरु तोकेर चुनावी अभियान चलाइरहेका छौं । त्यस्तै चौदण्डी नगरपालीकामा पनि सनिबारे, वर्षेडाँडा, हात्तिसार, नमुना, बसाह थान, सुन्दरपुर, सिवाइ, हडिया, बेलटारलगायतका ठाउँहरु तोकेर अभियान चलाइरहेका छौं । त्यस्तै अन्य त्रियुगा नगरपालिका लगायत अन्य गाउँपालिकाहरुमा पनि यसैगरी चुनावी कार्यक्रम गरिरहेका छौं । सबै मतदाताको घर–घरमा पुग्न नसके पनि मेरो उम्मेद्वारीको कारण र हाम्रो समग्र पार्टीको चुनावी ऐजेण्डाको बारेमा विभिन्न सामाजिक सञ्जालहरु मार्फत मतदाताहरुलाई सुसुचित गर्दै आइरहेका छौं ।

    उदयपुर क्षेत्र नं. १ का जनताले तपाईलाई नै किन मतदान गर्ने ?

    विगतका दिनहरुमा सबै दलहरुलाई जनताले हेरिसका छन् । विगत ३०–३५ वर्षदेखि भइरहेको फोहोरी राजनीतिले जनता वाक्क दिक्क भइसकेका छन् । सोझा जनताहरुलाई अनेकौं प्रलोभन देखाएर सत्तामा जाने, अनि लाभको पदहरुमा आफ्ना मान्छेलाई राख्ने, भ्रष्टाचार गर्ने, अनियमितता गर्ने, सुशासनको प्रत्याभुतिको प्रतिबद्धता गर्ने कुशासन गर्ने जस्ता कार्यले जनताहरु निरास भइरकेका छन् । विगतका सरकारको कार्यकालमा जताततै अनियमितता, भ्रष्टाचार र व्यथिति मात्र थिए । अहिले जनता वैकिल्पिक राजनीतिक शक्तिको खोजीमा छन् । र, त्यो वैकल्पिक शक्ति भनेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै हो । मलाई किन भोट दिने भन्ने सन्दर्भमा म के भन्छु भने अरु दलका नेताजस्तो राष्ट्रिय स्वतन्त्र पार्टीले असम्भव कुराहरु गर्दैन । जनतालाई के कुराको आवश्यकता परेको छ । हामी त्यो कुरामा केन्द्रित रहेर काम गर्दछौं । हामी झुटा आश्वासन बाँड्दैनौं । जे गर्न सक्छौं, त्यो मात्र हामी बोल्छौं । जस्तो हाम्रो क्षेत्रको कुरा गर्दा गुणस्तरीय स्वास्थ्य, शिक्षाका साथै कृषिका लागि मल, बीउ, सिचाइ र कृषकले उत्पादन गरेका वस्तुहरुको बजारिकरण, बाटोघाटोको निर्माण र स्तरोन्नती, पुल पुलेसा, स्वच्छ खानेपानी जस्ता जनतासँग प्रत्यक्ष जोडिएका विषयमा हामी केन्द्रित हुन्छौं । जनतालाई अतिआवश्यक पर्ने आधारभूत कुराहरु हाम्रो पहिलो नम्बरमा पर्दछ । त्यसपछि भनेको हाम्रो क्षेत्रमा रहेका संभावनाहरुको खोजी गरी त्यसलाई उपयोगमा ल्याएर रोजगारी सिर्जना गर्नु रहेको छ । हाम्रो क्षेत्र भनेको नदिनाला, वर्षामा आउने खहरे खोलाहरुले आतंक मच्चएको जिल्ला पनि हो । यसलाई नियन्त्रण गर्नु पनि मेरो अर्को प्राथमिकतामा पर्दछ । हामी काम गर्न आएका हौं । राजनीति गर्न आएका होइनौं । त्यसैले काम गर्ने मान्छेलाई मतदान गर्नुहुन्छ भन्ने पूर्ण विश्वासमा हामी छौं । हामी जे बोल्छौं, त्यो गर्छौ र जे गर्छौं त्यो मात्रै बोल्छौं । हामीले गर्ने कामहरु नागरिक करार पत्र र वाचापात्रमा सार्वजनिक गरिसकेका छौं । त्यो हामी गरेरै देखाउने बाचापत्र हो । अहिले जनतामा राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र देश बनाउन सक्छ भन्ने आशा छ । जनताको त्यो आशा हामी जसरी पनि पुरा गरेरै छाड्छौं । कुनै पनि हालतमा हामी जनतालाई निरासा हुन दिनौं ।

    राष्ट्रिय स्वतन्त्र पार्टीलाई त एजेण्डा विनाको पार्टी भन्ने आरोप लाग्ने गरेको छ नि ?

    होइन, यो सरार गलत हो । मैले अघि पनि भने राष्ट्रिय स्वतन्त्र पार्टी भनेको अरु पार्टी जस्तो असम्भव सपनाहरु बाँड्दै हिड्ने पार्टी होइन । जनताको आधारभूत आवश्यकता के हो, त्यही हाम्रो एजेण्डा हो । गरिव विपन्न परिवारले पनि निःशुल्क गुणस्तरीय शिक्षा पाउनुप¥यो, निःशुल्क स्वास्थ्य सुविधा पाउनु प¥यो, रोजगारी लगायतका कुनै पनि अवसरबाट कोही पनि बञ्चित हुनु नपरोस् । गरिव विपन्न परिवारका व्यक्ति पनि अब्बल हुनुपर्छ, सरकारीस्तरबाट हुने कामहरुमा विना पहुँचका जनताले पनि सहज सेवा लिन सक्नु पर्दछ । सरकारी सेवा लिने क्रममा जनताले दुःख पाउने कार्यको अन्त्य हुनुपर्छ । भ्रष्टाचार पूर्णरुपमा नियन्त्रण हुनुपर्छ । विधिको शासन लागू हुनुपर्छ । यिनीहरुनै हाम्रा एजेण्डाहरु हुन । जनताले हामीलाई बहुमूल्य मत दिएर जिताए पछि मुलुक स्वर्णिम युगमा प्रवेश गर्छ । सुशासन र कानुनी राज्यको सुरुवात हुन्छ ।

    तपाईले विजय प्राप्त गर्नुभयो भने प्राथमिकताका आधारमा के–के गर्नुहुन्छ ?

    सरकारी विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न सशक्तरुपमा नीति निर्माणमा लाग्छु । दोस्रो भनेको ‘युवा स्वरोजगार फण्ड’ को व्यवस्थापन गर्दै रोजगारी सिर्जनामा लाग्छु । सिँचाइ, मल, बीउ र बजारको व्यवस्थापन गर्दैै कृषिलाई प्राथमिकतामा राखेर काम गर्छु । अहिले बेलाकामा पाराग्लाइडिङ उडिरहेको छ । त्यसलाई नीति नियम बनाउँदै पर्यटकीय प्रबद्र्धन गर्दै व्यवसायिकीकरण गर्छु । त्यस्तै टिचिङ हस्पिटलका लागि सशक्त रुपमा पहल गर्छु । थ्री पी मोडलमा उदयपुर र सोलुको नाम्चे जोड्ने ‘पोड वे’ सेवा सञ्चालनका लागि पहिल गर्छु । यो मेरो व्यक्तिगत वाचापत्रमा पनि राखेको छु । पोड वे सेवामार्फत उदयपुरलाई सगरमाथासँग जोडेर पर्यटन हव बनाउने कार्यमा मेरो सशक्त भूमिका हुन्छ । आईटी क्षेत्रमार्फत रोजगारी सिर्जना गर्ने कुरामा पनि मेरो सशक्त भूमिका हुन्छ । उदयपुर सिमेन्टभित्र रहेको राजनीतिलाई सदाका लागि अन्त्य गरी बाह्रै महिना चौविसै घण्टा सञ्चालन हुने व्यवस्था गर्छु ।

    तपाईले शिक्षाको कुरा गर्नुभयो । सरकारी विद्यालयलाई हेर्ने हो भने कति विद्यालय त विद्यार्थी नभएर बन्द भएका छन् भने कतिपय विद्यालयहरुमा पाँच जना विद्यार्थी छन्, आठ जना शिक्षक छन् । यसलाई तपाईले कसरी सम्बोधन गर्नुहुन्छ ?

    हो, अहिलेको परिदृष्य यही नै हो । सरकारी विद्यालयको अवस्था त विजोग छ । यो भनेको सरकार निकम्मा भएर सिर्जना भएको समस्या हो । सरकारी विद्यालयहरुमा गुणस्तरीय शिक्षा दिने हो भने, विद्यालयहरुमा राजनीति नगर्ने हो भने यो समस्या आउने नै थिएन । स्वास्थ्य र शिक्षा त राष्ट्रिय स्वतन्त्र पार्टीको प्राथमकतामा नै पर्छ । हाम्रो सरकार बन्ने बित्तिकै यो समस्याको सदाका लागि समाधान गर्छौ ।

    रोजगारीको कुरा गर्नुभयो । उदयपुरमा रोजगारीको के–के सम्भावनाहरु छन् ?

    उदयपुरमा रोजगारीका धेरै सम्भावनाहरु छन् । आन्तरिक पर्यटक भित्र्याउनका लागि यहाँका थारु समुदायका संस्कृतिक झल्कने गरी होमस्टेको व्यवस्था गर्न सकिन्छ । त्यस्तै अन्य जातजातिका साँस्कृतिक धरोहरलाई जगेर्ना गर्दै आन्तरिक पर्यटकको हव बनाउन सकिन्छ । कृषि उत्पादनलाई बजारीकरण गरी व्यवसायिक कृषितर्फ आकर्षित गर्न सकिन्छ । त्यसबाट पनि थप रोजगारी सिर्जना गर्न सकिन्छ । सरकारी अनुदानको सही सदुपयोग गरी स्टार्टअप व्यवसायलाई आकर्षित गर्न सकिन्छ । त्यस्तै युवाहरुलाई आइटी क्षेत्रमा आकर्षित गरी घरमै बसेर आय आर्जन गर्ने वतावरण बनाउन सकिन्छ ।

    उदयपुरमा कुनै ठाउँ विशेषलाई पहिचान गरेर ‘स्पेशल जोन’ बनाएर अगाडि बढ्न सकिने सम्भावनाहरु छ कि छैन ?

    ‘स्पेशल जोन’ बनाएर रोजगारी सिर्जना गर्ने क्षेत्रहरु धेरै छन् । बेलाकाको कुरा गर्ने हो भने यो ऐतिहासिक ठाउँ हो । बेलाका राजाले शासन गरेको ठाउँ पनि भएकाले प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यस्त यसै क्षेत्रमा पाराग्लाइडिङको प्रचुर संभावना छ । अहिले पाराग्लाइडिङको काम पनि भइरहेको छ । तर नीति नियमको अभावमा व्यवसायिकीकरण गर्न सकिएको छैन । यसलाई नीति नियम बनाएर व्यवसायिकिकरण गर्न सकिन्छ । त्यस्तै चौदण्डीगगढी नगरपालिकामा सेन राजाहरुले राज्य संचालन गर्दाताकाको चौदण्डी दरबार नै छ । यसलाई पनि प्रवद्र्धन गरी पर्यटक भित्र्याउन सकिन्छ । हाम्रो क्षेत्रमा प्रत्येक ठाउँमा फरक–फरक विशेषताहरु रहेका छन् । यिनीहरुको पहिचान, प्रबद्र्धन गर्दै स्थानीयस्तरमा पर्यटकीय तथा आर्थिक गतिविधि बढाई थप रोजगारी सिर्जना गर्न सकिन्छ ।

    कृषिमा तपाईको योजना के छ ?

    कृषिलाई व्यवसयिकीकरण गरी उनीहरुले उत्पादन गरेका वस्तुलाई सहज बजारीकरणको गर्नु त मेरो प्राथमिकतामा नै पर्छ । सिँचाइका लागि कुलो नहरमार्फत सिचाइको व्यवस्था गरिने छ । त्यस्तै नहर तथा कुलो नभएको ठाउँमा भुमिगत सिँचाइको व्यवस्था गरिने छ । सर्वसुलभरुपमा मल, बीउहरु उपलब्ध गराउँछौं । त्यस्तै कृषकलाई आवश्यक पर्ने कृषि औजारहरु सर्वसुलभ रुपमा उपलब्ध गराउँछौं ।

    त्रियुगा नदीका साथै दर्जनौं नदीनालाले स्थानीयहरुलाई लामो समय देखि दुःख दिंदै आएको छ । ती नदीनालालाई नियन्त्रण गर्नका लागि तपाईसँग के योजना छ ?

    उदयपुरमा वर्षायाममा मात्र आउने खहरे लगायत अन्य नदिनालाहरुले धेरै नै क्षति गुर्नका साथै स्थानीयहरुलाई लामो समयदेखि दुःख दिइरहेको छ । त्रियुगाको क्षति र पीडाको बारेमा त कुरै नगरौं । यसको म आफैं पनि भुक्तभोगी हुँ । कोशीले बेलका नगरपालिकाको धेरै ठाउँहरुलाई कटान गरिरहको अवस्था छ । उदयपुर जिल्ला वर्षायाममा मात्र आउने खहरे खोलाले खेतीपातीमा धेरै क्षति हुने गरेको जिल्लामा पनि पर्छ । यो हाम्रो जिल्लाको ठूला समस्या हुन् । यसका लागि राष्ट्रियस्तरबाट नै गौरबको आयोजनामा समावेस गरेर नियन्त्रणको शसक्त पहल गर्छु । त्रियुगा लगायत अन्य नदी नालाहरुले क्षति पु¥याएका जग्गाहरुको उचित मुअब्जा उपलब्ध गराउने कार्यमा सशक्तरुपमा काम गर्छु ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend