काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)को झण्डा जलाइएको र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गरिएको विषयमा स्पष्टीकरण सोधेको छ।
रास्वपाका कार्यकर्ताले दाङको तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेको भन्ने सूचनापछि आयोगले पार्टी सभापतिको नाममा पत्र पठाउँदै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा आयोगको इमेल ठेगानामा तोकिएको समयसीमाभित्र जवाफ पठाउन भनिएको छ।
आयोगले पत्रमार्फत तुलसीपुरमा घटेको भनिएको घटनाबारे स्पष्ट विवरण माग गर्दै झण्डा जलाउने कार्य भएको हो वा होइन, तथा एमाले अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गरिएको हो वा होइन भन्ने विषयमा आधिकारिक धारणा पेश गर्न निर्देशन दिएको जनाएको छ।
