२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागु...

विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागु औषध गाँजासहित तीन भारतीय पक्राउ

विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागु औषध गाँजासहित तीन भारतीय पक्राउ

सहर्ष न्युज
शुक्रवार, फाल्गुण ८ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण ८ २०८२
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र समीना अख्तर बेग मिर्जालाई करिब तीन किलो ८७० ग्राम र अफसानालाई करिब सात किलो ४०० ग्राम उक्त लागु औषधसहित आज पक्राउ गरेको उहाँले बताउनुभयो ।

    पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै लागु औषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

    प्रहरीले चोरीको मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य मोटरसाइकलमा जडान गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका–६ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७, हात्तीगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँची, शीतगङ्गा गाउँपालिका–२ घर भई बूढानीलकण्ठ नगरपालिका–६, हात्तीगौडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे तथा बूढानीलकण्ठ नगरपालिका–७, हात्तीगौडा बस्ने ३८ वर्षीय करण खड्गी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

    बूढानीलकण्ठ नगरपालिका–७, हात्तीगौडास्थित तथा काठमाडौँ महानगरपालिका–२२, सङ्कटा मन्दिरस्थित पार्किङ गरी राखेको बा. प्र. ०२–०१६ प. ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जासमेत निकाली बिक्री वितरण तथा अन्य मोटरसाइकलहरूमा जडान गरिएको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ परेकाहरू माथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसैगरी, वैदेशिक रोजगारीका लागि अमेरिका लैजाने भन्दै रकम गठी गर्ने एक जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ।

    पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

    निज दाहालले अमेरिका लैजाने भन्दै एक जनाबाट  छ लाख ३० हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।

    निजलाई आज ललितपुर महालक्ष्मी नगरपालिका–४ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend