लहान : लहान नगरपालिका–१३को घलेटोलस्थित खेतबारीमा लगाइएको उखुमा आगलागी हुँदा १५ जना किसानको करिब १ करोड १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सोमबार दिउँसो करिब १२ बजेतिर सरस्वती र घलेटोल जाने कच्ची बाटोको पश्चिमतर्फ रहेको उखु खेतमा आगो लागेको हो।
इलाका प्रहरी कार्यालय लहानका अनुसार आगो नियन्त्रणमा ढिलाइ हुँदा करिब १५ बिघा क्षेत्रफलमा लगाइएको उखु पूर्ण रूपमा जलेर नष्ट भएको छ। उखु भित्र्याउने समयमा भएको आगलागीले किसानहरू ठूलो आर्थिक संकटमा परेका छन्।
स्थानीय किसान रामलखन मण्डलले उखु जलेर काम नलाग्ने अवस्थामा पुगेको बताउँदै आगलागीको कारणबारे स्थानीयस्तरमै खोजी भइरहेको जानकारी दिनुभयो। “हामी क्षतिपूर्तिका लागि स्थानीय सरकारसँग माग गर्दछौँ,” उहाँले भन्नुभयो।
वारुणयन्त्र बिग्रँदा उद्धारमा ढिलाइ
लहान नगरपालिकाको कार्यालयबाट घटनास्थलमा करिब २० मिनेटमै वारुणयन्त्र पुग्न सक्ने दूरी भए पनि नगरपालिकाको एक मात्र वारुणयन्त्र बिग्रिएको कारण समयमै आगो नियन्त्रण गर्न सकिएन। त्यसपछि गोलबजार नगरपालिकाबाट वारुणयन्त्र मगाउनुपरेको र आइपुग्न एक घण्टाभन्दा बढी समय लागेको स्थानीयले बताएका छन्।
२४ वडा रहेको लहान नगरपालिकामा कम्तीमा दुई वटा वारुणयन्त्र आवश्यक भए पनि एउटा मात्र रहेको र त्यो पनि मर्मत नहुँदा आगलागी जस्ता विपद् व्यवस्थापनमा समस्या हुँदै आएको स्थानीयवासी सुभकलाल यादवले गुनासो गर्नुभयो।
क्षतिपूर्तिका लागि पहल
कृषक महासङ्घका केन्द्रीय सदस्य रामनारायण महतोले सिराहामा रहेको हिमाल चिनी मिलसँग समन्वय गरी स्थलगत अनुगमन गरिएको र पीडित किसानलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको जानकारी दिनुभयो।
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले पीडित किसानलाई राहत उपलब्ध गराउन सक्दो सहयोग गर्ने तथा थप सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
आगलागीबाट रामलखन मण्डल, विसुनदेव यादव, रामदयाल मण्डल, कारी मण्डल, रामबिहारी मण्डललगायत १५ जना किसान प्रभावित भएका छन्। प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।
