२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • फागुन २१ गते हुने प्रतिनिधि सभा...

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

सहर्ष न्युज
आइतवार, फाल्गुण ३ २०८२
सहर्ष न्युज
आइतवार, फाल्गुण ३ २०८२
  • काठमाडौँ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । अहिलेकै गतिमा मतपत्र छपाइ निरन्तर रहेमा आइतबार साँझसम्ममा मतपत्र छपाइ सकिने मतपत्र छापिरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।

    केन्द्रका अनुसार अब करिब १२ लाख थान मात्र मतपत्र छाप्न बाँकी छ । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार शनिबार साँझसम्ममा एक करोड ९० लाख थान मतपत्र छपाइ सम्पन्न भएको छ । आयोगले प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख थान मतपत्र छाप्नुपर्ने हुन्छ । छापिएका मतपत्र ६६ जिल्लाका लागि हुन् ।

    काठमाडौँ उपत्यकावरपरका जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको छ । प्रबन्ध सञ्चालक पौडेलका अनुसार शुक्रबार साँझसम्म करिब १९ लाख मतपत्र मात्रै छाप्न बाँकी रहेको थियो । शनिबार पनि छपाइ भयो । हरेक दिन १० देखि १२ लाखसम्म मतपत्र छाप्न सक्ने क्षमता जनक शिक्षाको छापाखानासँग छ ।

    पौडेलले भन्नुभयो, “यस हिसाबले हेर्ने हो भने अब आइतबारका लागि करिब १०/१२ लाख थान मात्रै मतपत्र छाप्न बाँकी छ । आइतबार साँझसम्ममा चाहिनेजति मतपत्र छापिसक्छौँ ।” छापिएका मतपत्रमध्ये कर्णाली प्रदेशका सबै निर्वाचन क्षेत्रको मतपत्र ढुवानीसमेत भइसकेको छ ।

    सुदूरपश्चिम प्रदेशका निर्वाचन क्षेत्रका मतपत्र ढुवानीका लागि ट्रकमा लोड भइरहेको छ । जनक शिक्षाले सुरुमा गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । ढुवानी भएका जिल्लामा समानुपातिक र प्रत्यक्ष दुवैथरी मतपत्र एकैसाथ लगिएको छ ।

    नेपाली सेनाको सुरक्षामा मतपत्र सम्बन्धित जिल्लामा पठाइएको हो । सेनाले सम्बन्धित जिल्लामा पठाएर जिल्ला सुरक्षा समितिलाई जिम्मा लगाउने छ र आवश्यकता अनुसार त्यसको सुरक्षा पनि सेनाले नै दिने छ । यसअघि जनक शिक्षामार्फतै १० लाख ९८ हजार नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend