२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • रौतहटको सामुदायिक वनमा भीषण आगलागी, १...

रौतहटको सामुदायिक वनमा भीषण आगलागी, १ करोडभन्दा बढीको साल काठ जलेर नष्ट

रौतहटको सामुदायिक वनमा भीषण आगलागी, १ करोडभन्दा बढीको साल काठ जलेर नष्ट

सहर्ष न्युज
शुक्रवार, फाल्गुण १ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण १ २०८२
  • चन्द्रपुर, रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित नमुना सामुदायिक वनमा अज्ञात समूहले आगजनी गर्दा करिब एक करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको साल काठ जलेर नष्ट भएको छ।

    सामुदायिक वनले ६ वर्षअघि कटान गरी घाटगड्डी गरेर राखेको करिब आठ हजार घनफिटभन्दा बढी सालका गोलिया आगलागीमा परेका हुन्। २०७६ सालमा ४०० केभी प्रसारण लाइन विस्तारका क्रममा काटिएका ती काठ बिक्री प्रक्रियामा जान नसक्दा लामो समयदेखि वन क्षेत्रमा थन्किएका थिए।

    आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा वन उपभोक्ता समूहका सदस्यहरूले करिब पाँच घण्टासम्म कडा मेहनत गर्नुपरेको थियो। तर आगलागीबारे समयमै जानकारी नपाउँदा क्षति बढेको प्रहरी चौकी जुडिबेलाका प्रहरी सहायक निरीक्षक जयकान्त तिवारीले जानकारी दिनुभयो।

    वन उपभोक्ताहरूका अनुसार काठको लेखापरीक्षण र साधारण सभा हुन नसक्दा बिक्री प्रक्रिया अघि बढ्न सकेको थिएन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि पत्राचार गरेपछि साधारण सभा र लेखापरीक्षण रोकिँदा काठ उपभोक्ताले खरिद गर्न नपाएको गुनासो छ।

    सवडिभिजन वन कार्यालय जुडिबेलाका अधिकृत बालकिशोर सिंहका अनुसार समयमै काठ बिक्री नहुनु, वन गस्ती सक्रिय नहुनु तथा उपभोक्तामा पर्याप्त सचेतना नहुनुले अज्ञात समूहद्वारा आगजनी गरिएको हुन सक्ने आशंका गरिएको छ।

    प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ। आगलागीको वास्तविक कारण पत्ता लगाउन प्रयास भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend