२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • कोसी प्रदेशमा निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको...

कोसी प्रदेशमा निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको चासो, सुरक्षा निकायलाई कडा निर्देशन

कोसी प्रदेशमा निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको चासो, सुरक्षा निकायलाई कडा निर्देशन

सहर्ष न्युज
शुक्रवार, फाल्गुण १ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण १ २०८२
  • इटहरी : प्रधानमन्त्री सुशीला कार्कीले कोसी प्रदेशको निर्वाचन तयारी र समग्र सुरक्षा अवस्थाबारे बिहीबार इटहरीमा उच्चस्तरीय छलफल गर्नुभएको छ। सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुग्नुभएकी प्रधानमन्त्री कार्कीले निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा निकायका प्रमुखहरूसँग समन्वय बैठक गर्नुभएको हो।

    छलफलमा कोसी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरे, विभिन्न जिल्लाका मुख्य निर्वाचन अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी तथा प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति रहेको थियो।

    सो अवसरमा नेपाली सेनाको पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोसी प्रदेशको समग्र सुरक्षा अवस्था तथा निर्वाचन लक्षित सुरक्षा योजनाबारे प्रस्तुतीकरण दिनुभएको थियो।

    प्रधानमन्त्री कार्कीले छोटो समयमा गरिएको तयारीको प्रशंसा गर्दै आगामी दिनमा पनि सबै निकायबीच प्रभावकारी समन्वय र चुस्त व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “छोटो समयमा तपाईँहरूले राम्रो काम गर्नुभएको छ। यो सबैको समन्वयात्मक र एकीकृत प्रयासको प्रतिफल हो। जनताले मत हाल्न मात्र बाँकी रहने गरी तयारी पूरा भएको महसुस गरेको छु।”

    उहाँले निर्वाचनको वातावरण बिगार्न खोज्ने कुनै पनि तत्त्वलाई तत्काल निरुत्साहित गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने भ्रामक गतिविधिप्रति सतर्क रहन आग्रह गर्दै प्रधानमन्त्री कार्कीले देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको स्पष्ट पार्नुभयो।

    प्रधानमन्त्री कार्कीले आजै सोलुखुम्बुको नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाम पुगेर निर्वाचनको वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो। भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलगायत सहभागी हुनुहुन्छ।

    कोसी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा हुन लागेको निर्वाचनका लागि ५१ हजार ८०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदैछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend