काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ जारी गरेको छ। बोर्डले तोक्ने मितिदेखि यो निर्देशिका लागू हुने जनाएको छ।
जारी निर्देशिकाअनुसार मार्जिन कारोबारका लागि योग्य कम्पनीको कम्तीमा २५ लाख कित्ता शेयर सूचीकृत भएको हुनुपर्नेछ। साथै कम्पनीको नेटवर्थ चुक्तापुँजीबराबर वा सोभन्दा बढी हुनुपर्ने, पछिल्लो तीन आर्थिक वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्ने र प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी भई सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
निर्देशिकामा मार्जिन कारोबार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) का लागि समेत स्पष्ट मापदण्ड तोकिएको छ। चुक्तापुँजी कम्तीमा २० करोड रुपैयाँ भएका ब्रोकरले मात्र यस्तो सुविधा उपलब्ध गराउन सक्नेछन्।
यसैगरी राफसाफ सदस्यता प्राप्त गरेका, निक्षेप सदस्यता लिएका तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेका अन्य आवश्यक मापदण्ड पूरा गरेका ब्रोकरहरू मार्जिन कारोबार सुविधा दिन योग्य हुनेछन्।
त्यस्तै, निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको शेयरधनी रहेका अथवा सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीको मुख्य कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेको अवस्थामा पनि त्यस्ता ब्रोकरले मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने व्यवस्था निर्देशिकामा गरिएको छ।
