२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • मेघालय कोइलाखानी विस्फोट: खोटाङका तीन नेपालीको...

मेघालय कोइलाखानी विस्फोट: खोटाङका तीन नेपालीको भारतमै अन्त्येष्टि, एकको अझै बाँकी

मेघालय कोइलाखानी विस्फोट: खोटाङका तीन नेपालीको भारतमै अन्त्येष्टि, एकको अझै बाँकी

सहर्ष न्युज
मंगलवार, माघ २८ २०८२
सहर्ष न्युज
मंगलवार, माघ २८ २०८२
  • खोटाङ । भारतको मेघालय राज्यस्थित अवैध कोइलाखानीमा भएको विस्फोटमा ज्यान गुमाएका चार नेपालीमध्ये तीन जनाको भारतमै अन्त्येष्टि गरिएको छ भने एक जनाको अन्त्येष्टि अझै हुन बाँकी रहेको छ।

    शव नेपाल ल्याउन सम्भव नभएपछि खोटाङका एकै घरका दाजुभाइसहित तीन युवाको शव सिलाङको झालुपारामा लगेर माघ २६ गते दाहसंस्कार गरिएको हो।

    माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लास्थित अवैध कोइलाखानीमा भएको डाइनामाइट विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको थियो। पूर्णबहादुर र सुरेन्द्र एकै घरका दाजुभाइ हुन्।

    घटनास्थल पुगेका प्रकाश खपाङ्गी मगरका अनुसार पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते नरबहादुरको उपचारका क्रममा माघ २३ गते ज्यान गएको हो।

    तीनवटै शव नेपाल ल्याउन ठूलो खर्च लाग्ने भएकाले भारतमै अन्त्येष्टि गरिएको मृतकका आफन्तले बताएका छन्। शव नेपाल ल्याउन सरकारी तहबाट कुनै सहयोग नपाएको उनीहरूको गुनासो छ।

    विस्फोटमा खोटाङकै बराहपोखरी सालघारीका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते भएका छन्। बराहपोखरी वालम्पाका ताराबल मगर भने सकुशल रहेको जनाइएको छ। विस्फोटका क्रममा दर्जनौँ मजदुर खानीभित्र फसेको आशंका गरिएको छ।

    यसैबीच, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको शव पनि फेला परेको छ। सुरुमा शव फेला नपरेपछि केही दिनपछि भेटिएको र हाल गाउँमा काजकिरिया सुरु गरिएको स्थानीयले बताएका छन्। राईको अन्त्येष्टि भने अझै गरिएको छैन। शव भारतमै अन्त्येष्टि गर्ने वा नेपाल ल्याउने विषयमा आफन्तबीच छलफल भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend