२०८३ भाद्र २८ गते आइतवार

images

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

बुधवार, माघ २२ २०८२
बुधवार, माघ २२ २०८२
  • काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन आज (बुधबार)देखि नेपाली सेना परिचालित भएको छ ।

    सरकारले स्वीकृत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ अनुसार नेपाली सेनाको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा निकायहरू एकीकृत रूपमा फिल्डमा खटिएका छन् । निर्वाचनमा अब एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालिएको हो ।

    एकीकृत योजनाबमोजिम नेपाली सेनाले बाहिरी घेराको सुरक्षा जिम्मेवारी सम्हाल्ने छ भने नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदान केन्द्रको भित्री भागको सुरक्षाको मुख्य जिम्मेवारी लिनेछन् । सशस्त्र प्रहरी बलले दोस्रो तहको घेरा सम्हाल्दै अन्य निकायसँग समन्वय गर्नेछ ।

    सेनाले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि नै आफ्नो उपस्थिति जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिरमा प्रधानमन्त्रीको सिफारिसमा सेना परिचालनको स्वीकृति प्रदान गरेका थिए । आवश्यकता अनुसार 'वेस' स्थापना गरी संयुक्त गस्तीसमेत सञ्चालन हुने सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, योजना अनुरूप निर्वाचनको एक महिना अघिदेखि नै सेना फिल्डमा सक्रिय हुनेछ ।

    सेनाले निर्वाचनका तीन चरणमा सुरक्षा प्रदान गर्नेछ— मतपत्र छपाइ तथा ढुवानी, मतदान स्थल र मतपेटिका सुरक्षा, तथा मतगणनासम्मको सुरक्षा । यसबाहेक विमानस्थल, कारागार जस्ता महत्वपूर्ण संरचनाको सुरक्षा पनि सेनाले सम्हाल्नेछ । मतदानको दिन तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र कर्मचारीहरूलाई पूर्ण सुरक्षा दिने सेनाको प्रतिबद्धता छ ।

    यसपटकको निर्वाचनमा कुल ३,४०६ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको छ । देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्, जसमध्ये ९२ लाख ४० हजारभन्दा बढी महिला र ९६ लाखभन्दा बढी पुरुष छन् ।

    मतदानका लागि १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । नेपाल प्रहरीबाट ७७ हजार र थप १ लाख ३३ हजार निर्वाचन प्रहरी परिचालित हुनेछन् । सशस्त्र प्रहरीबाट ३४ हजार ५७६ र १५ हजार ११० निर्वाचन प्रहरी गरी कुल करिब ५० हजार जना खटिनेछन् ।

    मतदान स्थलहरूलाई अति संवेदनशील (३,६८०), संवेदनशील (४,४४२) र सामान्य (२,८४५) वर्गमा विभाजन गरी सोही अनुसार सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र प्रहरीले कुनै पनि घटना भए १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी तयारी गरेको जनाएको छ ।

    यी सबै प्रयासले निर्वाचनलाई भय रहित र निष्पक्ष बनाउने अपेक्षा गरिएको छ ।

    रा स सबाट साभार 


    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend