२०८३ भाद्र २७ गते शनिवार

images

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सहर्ष न्युज
मंगलवार, माघ २१ २०८२
सहर्ष न्युज
मंगलवार, माघ २१ २०८२
  • सङ्खुवासभा : सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ।

    सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१ दशमलव पाँच मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो।

    यहाँ एक कार्यक्रमकाबीच अर्विट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले सुरुङ ‘ब्रेक थ्रु’ गरे। यो निजी क्षेत्रले पहिचान गरी अघि बढाएको आयोजनाको हो।

    सभापोखरी–३ मा इन्टेक एरिया रहेको आयोजनाको चार हजार ११० मिटर सुरुङ छिचोलिएको छ। सभापोखरी गाउँपालिका वडा नं ३, ४ र ५ मा आयोजनाको काम भइरहेको छ।

    जलाशयको मुहान (इनटेक) बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको चार हजार ११० मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको आयोजनाका इञ्चार्ज कृष्णप्रसाद पन्तले बताए।

    अब सुरुङको बाँकी कङ्क्रिट लाइनिङको काम गरिने र मुख्य सुरुङबाट गएको पानीलाई एक हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिने उनले जानकारी दिए।

    हालसम्म आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भइसकेको पन्तले बताए। उक्त आयोजनाबाट उत्पादन भएको विद्युत् खाँदबारी नगरपालिका–१० सित्तलपाटीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिने आयोजना इन्चार्ज पन्तले बताए।

    विसं २०७९ कात्तिक २३ देखि सुरु भएको उक्त आयोजना आगामी वैशाख २३ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।

    आयोजनाका इन्चार्ज पन्तका अनुसार आयोजनाअन्तर्गत प्रसारण लाइनको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म स्थानीयलाई रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र बेलिब्रिज पुल निर्माण लगायतका काम भइरहेका छन्।

    करिब पाँच अर्ब लागत रहेको आयोजनाको मुख्य निर्माण कम्पनी बैभव पावर नेपाल प्रालिले यहाँ काम गरिरहेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend