बुटवल : रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको ट्याक्टर एकआपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्।
दुर्घटनामा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
मंगलबार बिहान ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको स्कुल बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका २१ विद्यार्थीमध्ये १३ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ भने चार जनालाई भीम अस्पताल भैरहवामा भर्ना गरिएको छ। बाँकी चार जना उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहानको समयमा बाक्लो हुस्सु लागेका कारण दृश्यता कम हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
