२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति भएको...

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति भएको कोटेश्वर भाटभटेनी पुन: सञ्चालनमा आउँदै

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति भएको कोटेश्वर भाटभटेनी पुन: सञ्चालनमा आउँदै

सहर्ष न्युज
मंगलवार, माघ २१ २०८२
सहर्ष न्युज
मंगलवार, माघ २१ २०८२
  • काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति भएको कोटेश्वरको भाटभटेनी पुन: सञ्चालनमा आउने भएको छ। माघ २८ बाट उक्त स्टोर सञ्चालनमा आउन लागेको हो।

    सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सोमबार आगलागीबाट क्षति भएको सुपरमार्केटको सञ्चालनका लागि पूजाआजा गरेका छन्। त्यसअघि पनि राजावादी आन्दोलनमा उक्त स्टोरमा लुटपाट र तोडफोड हुँदा क्षति पुगेको थियो। स्टोर तोडफोड भएको भोलिपल्ट नै उक्त सञ्चालनमा आएको थियो।

    कोटेश्वरको भाटभटेनीसँगै दुई हप्तापछि महाराजगञ्जको स्टोर पनि सञ्चालनमा आउने तयारी भइरहेको सुपारमार्केटका प्रमुख सञ्चालन अधिकृत (सिओओ) पाणु पौडेलले जानकारी दिए।

    उनका अनुसार जेनजी आन्दोलनका क्रममा क्षति पुगेका अन्य स्टोरहरू पनि पुनर्निर्माण भई सञ्चालनमा आउने क्रममा छन्। सुपारमार्केटले आन्दोलनको तीन महिनापछि बालुवाटारस्थित मुख्य गोदाम सञ्चालनमा ल्याएको थियो।

    भदौ २४ गते जेनजी आन्दोलनकर्ताले काठमाडौंसहित देशभरका २८ स्टोरमध्ये २१ स्टोरमा क्षति पुर्‍याएका थिए।

    आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २१ वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार आठ सय ५४ रुपैयाँबराबरको क्षति भएको देखिएको थियो। २१ मध्ये बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरूपमा आगजनी भएको थियो भने बाँकी नौवटा स्टोरमा आंशिक क्षति पुगेको थियो।

    यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले १२ वटा स्टोर पूर्णरूपमा जलाइएको र बाँकी नौवटामा आंशिक क्षति पुर्‍याइएको जानकारी गराएका थिए।

    उनले भाटभटेनीमा कार्यरत १० हजार बढी कर्मचारीलाई बिदा नगर्ने योजना रहेको बताउँदै दसैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने जनाएका थिए।

    प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटकपटक प्रतिबद्धता जनाउँदा पनि भाटभटेनीमाथि नै ‘टार्गेट’ गरिएको बताएका थिए।

    भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका नौवटा गरी १९ वटा स्टोरमा चार अर्ब ४० करोड ६ लाख ५४ हजार ६ सय तीन रुपैयाँ बराबरको क्षति भएको छ भने पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार पाँच सय ९६ रुपैयाँ बराबरका सामग्री पूर्णरूपमा जलाइएको छ। ४९ करोड ५७ लाख ७६ हजार ६ सय ५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend