२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • पाकिस्तानको बलुचिस्तानमा घातक गोलीकाण्ड र बम...

पाकिस्तानको बलुचिस्तानमा घातक गोलीकाण्ड र बम आक्रमणः हालसम्म १ सय ९३ जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तानमा घातक गोलीकाण्ड र बम आक्रमणः हालसम्म १ सय ९३ जनाको मृत्यु

सहर्ष न्युज
सोमवार, माघ २० २०८२
सहर्ष न्युज
सोमवार, माघ २० २०८२
  • काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएका गोलीकाण्ड र बम आक्रमणमा ३१ जना सर्वसाधारण नागरिक र १७ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। बीबीसी उर्दूका अनुसार प्रान्तका मुख्यमन्त्री सरफराज बुग्तीले यो जानकारी दिएका हुन्।

    मुख्यमन्त्री सरफराज बुग्तीका अनुसार ती आक्रमणको जवाफमा सुरक्षा बलहरूले गरेको कारबाहीमा कम्तीमा १४५ जना आक्रमणकारी मारिएका छन्। यी झडपहरूमा कुल १९३ जनाको ज्यान गएको छ।

    यसअघि अलगाववादी समूह बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) ले आक्रमणको जिम्मेवारी लिँदै धेरै सैनिक मारिएको दाबी गरेको थियो।पाकिस्तानी सरकारले बीएलएलाई भारतको समर्थन रहेको आरोप लगाएको छ। तर भारतले यस्ता आरोपहरू निराधार भन्दै अस्वीकार गरेको छ।

    बीएलएको आरोप छ कि पाकिस्तानको संघीय सरकारले देशको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानका विशाल खनिज स्रोतहरूको दोहन गरिरहेको छ, तर त्यसबाट स्थानीय जनताले कुनै लाभ पाएका छैनन्।

    बलुचिस्तान पाकिस्तानको कुल भूभागको करिब ४४ प्रतिशत हिस्सा ओगटेको प्रान्त हो। यो प्रान्तको सिमाना इरान र अफगानिस्तानसँग जोडिएको छ। पाकिस्तानको करिब २४ करोडभन्दा बढी जनसंख्यामा झण्डै ५ प्रतिशत मानिसहरू यही प्रान्तमा बसोबास गर्छन्।

    प्राकृतिक स्रोतका दृष्टिले पनि बलुचिस्तान सबैभन्दा धनी प्रान्त मानिन्छ, जहाँ ग्यास र खनिज स्रोतहरूको विशाल भण्डार रहेको छ। यस प्रान्तको नाम बलुच जातिबाट राखिएको हो, जो यहाँको सबैभन्दा ठूलो जातीय समुदाय हो। एजेन्सी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend