२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा...

नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो

नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो

सहर्ष न्युज
आइतवार, माघ १९ २०८२
सहर्ष न्युज
आइतवार, माघ १९ २०८२
  • काठमाडौं । पश्चिम नेपालको रोल्पाको सुनछहरी गाउँपालिकाका केही वडामा प्रत्येक वर्ष हिउँदमा स्थानीय खोलाहरूमा सुन खोज्ने चलन दशकौँ पुरानो रहेको त्यहाँका गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगर बताउँछन्।

    उनका अनुसार केही वर्षअघि एक व्यक्तिले तीन तोलासम्मको डल्लो फेला पारेका थिए।

    देशभरि बालुवा चालेर सुन निकाल्ने काम चमेलिया, महाकाली, लुङ्ग्री, फागुम, कालीगण्डकी, मर्स्याङ्दी, मोदी, त्रिशूलीजस्ता नदीको तटमा हुने गरेको खानी विभागले बताएको छ।

    अहिले विश्वभरि सुनको मूल्य निरन्तर उकालो लागेको छ। नेपालमा सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ नाघिसकेको छ।

    विज्ञहरूका अनुसार नेपालमा विभिन्न स्थानमा सुन पाइन्छ। के ती स्थानमा व्यावसायिक रूपमै सुन उत्खनन गर्न सकिन्छ?

    सम्भावना

    नेपालमा फेला परेका विभिन्न खनिज पदार्थको नक्साङ्कन
    तस्बिरको क्याप्शन,खानी तथा भूगर्भ विभागले सुन र अरू खनिज पदार्थ फेला परेका स्थानहरू पहिचान गरी नक्साङ्कन गरेको छ

    नेपालमा सुन खास गरेर 'प्लेसर गोल्ड'को स्वरूपमा खोलाको बगरमा बालुवामा कणका रूपमा भेटिने गरेको खानी तथा भूगर्भ विभागका प्रवक्ता एवं खनिजभूगर्भविद् धर्मराज खड्काले बीबीसीलाई बताए।

    "खोलाहरूमा, खोलाछेउको 'टेरेस' भनिने स्थानहरूमा, खोलाले छाडेका ठाउँ 'फ्लडप्लेन'हरूमा त्यसरी सुन पाइने गरेको छ। अहिले पनि ठाउँठाउँमा मानिसहरूले बालुवा चालेर सुन निकालेको पाइन्छ," उनले भने।

    खानी विभागले 'प्लेसर गोल्ड' फेला परेका स्थान पहिचान गरेर नक्साङ्कन पनि गरेको छ।

    विगतमा स्थानीय मानिसहरूले आफूखुसी त्यसरी सुन झिक्ने गरेको भए पनि हिजोआज खानी विभागको अनुमतिमा मात्र त्यसरी सुन झिक्न पाइने उनले बताए।

    उनका अनुसार बालुवामा मिसिएका स्वर्णकणहरू थुप्रै ठाउँमा भेटिए पनि 'हार्डरक' तथा 'बेडरक' भनिने चट्टानमा सुनखानीकै स्वरूपमा रहेको चाहिँ रोल्पामा विभागले पहिचान गरेको छ।

    "प्रारम्भिक अध्ययनहरूमा त्यहाँ सुन भेटिएका छन्। तर उत्खनन गरेर व्यापारिक प्रयोगमै ल्याउन सकिने हो कि होइन भन्ने बारे विस्तृत अध्ययन हुन बाँकी छ।"

    बालुवामा सुनका कण भेटिनुको अर्थ

    खानी तथा भूगर्भ विभागका प्रवक्ताका अनुसार रोल्पामा जस्तै चमेलिया खोला आसपासको बाङ्गाबगर तथा गोराङजस्ता ठाउँका चट्टानमा सुन भेटिएको छ।

    नेपालमा सुन पाइने सम्भावित ठाउँ चाहिँ ठूलाठूला हिमाल बन्ने क्रममा बनेका 'शिअर जोन' भनिने ठूला दरार भएका क्षेत्र हुन्।

    कम्तीमा रोल्पामा सुनको खानी नै रहेको पहिचान भएको भूगर्भविद् चुर्णबहादुर वलीले पनि बताए।

    "तर त्यो उत्खनन गर्न आर्थिक रूपमा सम्भाव्य हो कि होइन भन्ने चाहिँ स्पष्ट भएको छैन," उनले भने।

    "सुन तथा अन्य खनिज पदार्थको सम्भावना नेपालमा धेरै छ। 'प्लेसर डिपोजिट'का रूपमा सुन भेटिनु भनेको पनि कतै त्यसको खानी छ र त्यहाँबाट बग्दैबग्दै खिइँदैखिइँदै बालुवामा मिसिएको कणको रूपमा बाँकी रहेको भनेर बुझ्न सकिन्छ," वलीले भने।

    विगतमा प्रतिटन चट्टानमा पाँच ग्राम सुन भेटियो भने उत्खनन गर्न त्यसलाई आर्थिक रूपमा उपयुक्त मानिने गरेको थियो। हिजोआज सुनको भाउ धेरै बढेकाले १-२ ग्राम अनुपातमा भेटिए पनि व्यापारिक उत्खनन गर्न योग्य मान्न सकिने खड्काले बताए।

    रोल्पाको एउटा गाउँ जहाँ सुन खोज्ने चलन अझै छ

    रोल्पामा बालुवामा सुन खोज्दै स्थानीय मानिसहरू

    तस्बिर स्रोत,Balbir Nepali

    रोल्पाको सुनछहरी गाउँपालिकामा सुन खोज्ने प्रचलन पुरानै रहेको अध्यक्ष धनबहादुर पुन मगर बताउँछन्।

    "यहाँ बग्ने लुङ्ग्री खोला र जलजला खोलामा बर्खामा ठूलाठूला ढुङ्गाहरू ठोक्किँदै आउँदा सुनका ससाना कण पाइन्छ। हिउँदभरि पुरानो ग्रामीण प्रविधिबाट गाउँलेहरूले सुन खोज्ने चलन छ," उनले भने।

    "कोहीकोहीले एक मासा, दुई मासा भेट्छन्। कहिले कसो एउटै डल्लो पनि तीन तोलासम्म पाएका छन्। गत वर्ष मात्र हाम्रै गाउँपालिका छेउका एकजना भाइले ठूलै डल्लो पाएछ र त्यसलाई सुनपसलमा लगेर प्रशोधन गर्दा ९४,००० रुपैयाँ पाएको थियो," उनले भने।

    परापूर्वकालदेखि स्थानीयवासीहरूले त्यसरी बालुवामा चालेर सुन खोज्ने भएकाले आफूहरूले कुनै अवरोध नगरेको तर बाहिरबाट कैयौँ मानिस आएर त्यहाँका ढुङ्गा लैजाने क्रम पनि बढेको उनले बताए।

    "मैले उनीहरूलाई ढुङ्गा लगेर परीक्षण गर्न त दिएको छु तर उत्खनन गर्न पाइँदैन भनेको छु।"

    उनका अनुसार औसतमा त्यहाँका दुईवटा खोलाबाट मानिसहरूले वर्षको डेढ किलो जति सुन निकाल्छन्।

    बताए।

    "यहाँको वडा नम्बर २, ३ र ७ को एक-एक ठाउँ गरी तीनवटा सुन खानी २०५१/५२ सालबाटै दर्ता छन्। वडा २ र ३ को हकमा आर्थिक वर्ष २०७९/८० मा सरकारले टेन्डर खोलेको थियो। व्यवसायीहरूले टेन्डर पारेका थिए तर पछि उत्खनन गर्न सकेनन्," मगरले भने।

    Sunchhahari Rural Municipality
    मैले ढुङ्गा लगेर परीक्षण गर्न त दिएको छु तर [सुन] उत्खनन गर्न पाइँदैन भनेको छु
    धनबहादुर पुन मगर
    अध्यक्ष, सुनछहरी गाउँपालिका, रोल्पा

    खानी विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार पोहोर फेरि अर्को लगानीकर्ताले त्यहाँ काम गर्ने भनेर विभागसँग सम्झौता गरेका छन्।

    भूगर्भविद्हरूका अनुसार सामान्यतया सुनको कण चाँदी वा अन्य सल्फाइड यौगिकसँग मिश्रित रूपमा भेटिन्छ।

    विज्ञहरूले खास गरी उच्च हिमाली भेगमा सुनखानी भेट्न सकिने बढ्ता सम्भावना औँल्याएका छन्।

    अचेल सुनजस्तै तीव्र गतिमा भाउ बढिरहेको चाँदीको चाहिँ उल्लेखनीय खानी हालसम्म नभेटिएको विभागका अधिकारीहरूले बताए।

    अध्ययनहरूबाट गणेश हिमालमा रहेको लेड-जिङ्क डिपोजिटमा केही परिमाणमा चाँदी भेटिएको देखिएको छ।

    सुनको उत्खननलाई निकै चुनौतीपूर्ण तथा जटिल मानिन्छ। यसका निम्ति निकै धेरै समय, वित्तीय स्रोत तथा विशेषज्ञता आवश्यक पर्ने बताइन्छ।

    सम्भावित स्थलहरूमध्ये ०.१ प्रतिशत मात्र उत्पादनशील खानीका रूपमा परिणत हुने वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ।

    उसका अनुसार चीन विश्वकै सबभन्दा धेरै सुन उत्पादक देश हो। सुन धेरै उत्पादन गर्ने अन्य देशहरूमा रुस, अस्ट्रेलिया तथा क्यानडा पर्ने समाचार बीबीसीले लेखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend