२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • डा.भोला रिजालको शब्दरचना रहेको राष्ट्रिय भावले...

डा.भोला रिजालको शब्दरचना रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ बजारमा

डा.भोला रिजालको शब्दरचना रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ बजारमा

सहर्ष न्युज
आइतवार, माघ १९ २०८२
सहर्ष न्युज
आइतवार, माघ १९ २०८२
  • काठमाडौं । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालको शब्दरचना रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ श्रोता/दर्शकमाझ आएको छ । शिव परियारको स्वर, शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    वीरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा.नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठलगायतको अभिनय छ । सरला रिजालको प्रस्तुति रहेको भिडियोलाई महेश महाराले छायांकन गर्नुभएको हो भने सम्पादन वीरेन्द्रकै रहेको छ ।

    देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक भएको गीत निकै शसक्त जागरण गीत रहेको छ । वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको गीतको भिडियो बिआर प्रोडक्सनमार्फत श्रोता/दर्शकमाझ आएको हो ।

    हामीहरू फुटेर होइन जुटेर अघि बढौं भन्ने धारणाले यो राष्ट्रभावको गीत श्रोता/दर्शकमाझ ल्याएको डा.रिजाल बताउनुहुन्छ । गीतले देश विकासमा जुटन र परिवर्तनका पक्षमा लाग्न सन्देश प्रवाह गरेको छ । जाग युवा जाग देश निर्माणमा लाग भन्ने गीतले आह्वान गरेको छ ।

    डा.भोला रिजाल शब्द, संगीत र स्वरका त्रिवेणी प्रतिभा हुनुहुन्छ । उहाँले रचना गरेको पहिलो रेकर्डेड (२०२० साल) गीत ‘म मान्दिनँ जात र धर्म कसैको’ हो भने २०२६ सालमा रेकर्ड भएको ‘मेरो पौवा पाटी’ उहाँको स्वरको पहिलो रेकर्डेड गीत हो । डा.रिजालकै रचना, संगीत र स्वरमा रेकर्ड भएको यो गीत उहाँको सांगीतिक इतिहासको दस्तावेज नै बनेको छ ।

    डा.रिजाल विसं २००४ साल कात्तिक १४ गते धरानको पुरानो बजारमा जननीप्रसाद रिजाल र पूर्णमाया रिजालको साहिँलो सन्तानको रूपमा जन्मिनुभएको हो । उहाँ सानैदेखि हरेक क्षेत्रमा उत्तिकै सक्रिय हुनुहुन्थ्यो । साहित्यसँगै सामाजिक कार्य र खेलकुद गतिविधिमा समेत उहाँको विशेष रुचि थियो । एसएलसीको तयारी गर्दै गर्दा १५ वर्षका डा.भोला रिजालको विवाह १२ वर्षीय सरला घिमिरेसँग भएको थियो । कला र साहित्यको वंशाणुगत गुण लिएर आउनुभएका डा.भोला रिजालका हजुरबुबा ध्रुवलाल र बुबा जननीप्रसाद रिजालमा पनि अब्बल साहित्यिक शिल्प थियो ।

    नौ कक्षासम्म धरान पब्लिक स्कुलमा अध्ययन गर्नुभएका डा.रिजालले एसएलसीसम्मको पढाइ विराटनगरबाट पूरा गर्नुभएको थियो । हिमकला मन्दिरबाट ‘कानुनकी आखेमे’ जस्ता नाटक देखाउन उहाँको समूह भारतको वीरपुर, जोगवनी, फार्विसगञ्जसम्म पुग्ने गर्थ्यो । एसएलसीपछि आईएस्सी पढ्न वनारस जानुभएका रिजालले त्यहाँ पुगेर पनि कलाकारितालाई निरन्तरता दिनुभएको थियो । अहिलेसम्म ३५ सयभन्दा बढी गीत लेखिसक्नुभएका रिजालका स्वरमा ३०० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । गीति लेखनका हिसाबले करिब ६ दशक पुगिसकेको छ ।

    पेशाले चिकित्सक भए पनि साहित्य सिर्जनामा सदैब दत्तचित्त भएर लागिरहनुभएका कलाकार/सर्जक रिजालका ‘मेरो पौवा पाटी, ईश्वर आफैँ बोल्छ, मेरी सान्नानी, शुभकामना, सगरमाथा रोइरहेछ, सारंगीको तार टुट्यो, यात्रा, पपकर्न’ लगायतका १३ वटा गीति एल्बम प्रकाशन भइसकेका छन् । त्यस्तै उहाँले ठूलो पर्दाका ‘लक्ष्मी पूजा’, ‘छोरी बुहारी’, ‘जूनतारा’, ‘साथी’, ‘एक नम्बरको पाखे’, ‘अप्सरा’, ‘उकाली–ओराली’ र ‘गौँथली’ जस्ता आठवटा चलचित्र निर्माणका साथै ती चलचित्रमा कथा लेखन र गीत लेखन समेत गर्नुभएको छ । यीमध्ये ‘गौँथली’ गीति चलचित्र हो । जसमा महिला हक अधिकार र छोरीलाई शिक्षा दिनुपर्छ भन्ने सन्देश रहेको छ ।

    डा.रिजालका ‘मलाई पनि अंग्र्रेजीमा बोल्न सिकाइदेऊ न, निधारमा रातो माटो शिरमा टोपी राखें, भागेर भए पनि आऊ’ जस्ता दर्जनौं हिट गीत रहेका छन् । डा.रिजाल यतिबेला पनि गीत लेखन र जीवनी लेख्ने क्रममा नै रहनुभएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend