काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रूपमा अन्यत्र प्रेषण (रिफर) नगर्न निर्देशन दिएको छ। बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण पौडेलले सेवाप्रदायक स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै आफ्नै संस्थामा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई रिफर गर्ने प्रवृत्ति रोक्न आग्रह गर्नुभएको हो।
बोर्डका अनुसार अस्पतालमै सेवा उपलब्ध हुँदाहुँदै पनि बिरामीलाई अनावश्यक रूपमा अन्य स्वास्थ्य संस्थामा पठाउने गुनासो बढेपछि यस्तो निर्देशन जारी गरिएको हो। स्वास्थ्य बिमा ऐन, २०७४, स्वास्थ्य बिमा नियमावली, २०७५ तथा प्रेषण कार्यविधि, २०८० विपरीत हुने गरी गरिएको रिफर स्वीकार्य नहुने बोर्डले स्पष्ट पारेको छ।
निर्देशनमा भनिएको छ, यदि कुनै स्वास्थ्य संस्थाले आवश्यक सेवा उपलब्ध गराउन नसक्ने अवस्था भएमा मात्र प्रेषण पुर्जी भरी सेवा सुनिश्चित हुने नजिकको स्वास्थ्य संस्थामा बिरामीलाई रिफर गर्नुपर्नेछ। बोर्डले नियमअनुसार सेवा प्रवाह गर्न सबै सम्बन्धित स्वास्थ्य संस्थालाई सचेत रहन आग्रह गरेको छ।
