काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरू मतदाताको दैलोमा पुगेर मत माग्न व्यस्त रहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले मधेस प्रदेशको राजधानी जनकपुरधाम पुगेर जानकी मन्दिरमा दर्शन गरेका छन् ।
पूर्वराजा शाह आइतबार परिवारसहित जनकपुरधाम आइपुगी मिथिला यात्री निवासमा बास बसेका थिए । सोमबार दिउँसो उनले जानकी मन्दिरमा पूजापाठ गरेका हुन् । मन्दिर दर्शनका क्रममा ठूलो संख्यामा समर्थकहरूको भीड देखिएको थियो ।
पत्रकारहरूको जिज्ञासामा पूर्वराजा शाहले आफ्नो यात्रा विशुद्ध धार्मिक उद्देश्यका लागि मात्र भएको स्पष्ट पारे । “मन्दिर ध्यान गर्ने स्थान हो,” भन्दै उनले राजनीतिक विषयमा प्रतिक्रिया नदिँदै समर्थकहरूको अभिवादन स्वीकार गर्नमै समय बिताए ।
दिउँसो करिब ३ बजे परिवारसहित जानकी मन्दिर पुगेका पूर्वराजाको स्वागतमा समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजा आऊ देश बचाऊ’, ‘राजा हाम्रो साझा’ जस्ता नारा लगाउँदै जयजयकार गरेका थिए ।
जानकी मन्दिर दर्शनपछि पूर्वराजा शाहले पैदल करिब दुई सय मिटर दूरीमा रहेको राम मन्दिर र राजदेवी मन्दिरमा समेत पूजापाठ गरेका थिए । उनको आगमनको स्वागतका लागि समर्थकहरू बिहानैदेखि तयारीमा जुटेका थिए । जानकी मन्दिरमा महन्थ तथा साधुसन्त र राम मन्दिरमा युवा कमिटीका सदस्यहरूले पूर्वराजासहित उनको परिवारलाई स्वागत गरेका थिए ।
पूजा सम्पन्न गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले भने, “यो नितान्त धार्मिक यात्रा हो, अरू केही होइन।” यात्राका क्रममा हिन्दुवादी संघ–संस्था तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।
पूर्वराजा शाह समर्थकहरूको सद्भाव ग्रहण गर्दै उज्यालो अनुहारका साथ भीडमा घुलमिल भएका थिए । कतिपय स्थानमा उनी रोकिने र मुस्कुराउँदै समर्थकहरूको कुरा सुन्ने गरेका थिए ।
यसअघि माघ ४ गते पूर्वयुवराज पारस शाह पनि जनकपुरधाम आएर मिथिला यात्री निवासमै बास बसेका थिए । सोही दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साह पनि त्यही होटलमा बसेका थिए । आसन्न निर्वाचनको संघारमा पूर्वराजा, पूर्वयुवराज र राजपरिवारको जनकपुरधाम केन्द्रित लगातार आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
