काठमाडौं :नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। साउदी अरबको रियादमा सम्पन्न कार्यक्रममा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्नासम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्।
एक दशकभन्दा बढी समयको प्रयासपछि नेपाल र साउदीबीच श्रम सम्झौता औपचारिक रूपमा टुंगोमा पुगेको हो। नेपालले २०७० सालदेखि नै साउदीसँग श्रम सम्झौता गर्ने पहल गर्दै आएको थियो। पटक–पटक मस्यौदा तयार भए पनि विभिन्न कारणले सम्झौता हुन सकेको थिएन। गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको थियो। तर, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सरकार परिवर्तन हुँदा सम्झौता प्रक्रियामा ढिलाइ भएको थियो।
सम्झौतामा हस्ताक्षर हुनुअघि दुवै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठक पनि सम्पन्न भएको थियो। उक्त बैठकमा मन्त्री भण्डारीले यस सम्झौताले नेपाल–साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले सम्झौताले नेपाली साधारण श्रमिकको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउने आधार तयार गर्ने बताए। साथै, साउदी अरबमा कार्यरत नेपाली श्रमिकको हकहित संरक्षण र रोजगार सुरक्षामा यसले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
सम्झौतामा श्रमिकको सेवा सुविधा, काम गर्ने अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयलाई प्राथमिकताका साथ समेटिएको छ। दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीका आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।
रियादस्थित नेपाली राजदूतावासका अनुसार यस सम्झौताबाट साउदी अरबमा हाल कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकको सेवा सुविधा, सुरक्षा र रोजगारी स्थायित्व थप मजबुत हुने विश्वास गरिएको छ।
हाल साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले न्यूनतम तलब नपाएको, करारपत्र फेरबदल गरिएको, कम्पनीले स्वदेश फर्किन नदिएको, उपचारमा लापरवाही गरिएको जस्ता समस्या भोग्दै आएको भन्दै दूतावास र वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ जनाले (पुनः श्रम स्वीकृतिसहित) साउदी अरबका लागि श्रम स्वीकृति लिएका थिए। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा यो संख्या एक लाख ४१ हजार ५०२ रहेको थियो।
