२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • व्यक्तिगत श्रम स्वीकृतिमा जापान जाने नेपाली...

व्यक्तिगत श्रम स्वीकृतिमा जापान जाने नेपाली श्रमिक ठगीमा, सजग रहन विभागको आग्रह

व्यक्तिगत श्रम स्वीकृतिमा जापान जाने नेपाली श्रमिक ठगीमा, सजग रहन विभागको आग्रह

सहर्ष न्युज
सोमवार, माघ १३ २०८२
सहर्ष न्युज
सोमवार, माघ १३ २०८२
  • काठमाडौँ : वैदेशिक रोजगार विभागले पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली श्रमिक ठगीमा पर्ने घटनाहरू बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ।

    विभागका अनुसार ब्याचलर, कुक तथा अन्य सिपयुक्त श्रमिकका भिसामा व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जानेहरू अत्यधिक रूपमा ठगीको सिकार भइरहेका छन्। टोकियोस्थित नेपाली दूतावासमा भने अनुसारको काम र तलब नपाएको, चर्को शुल्क असुलिएकोलगायतका उजुरीहरू ठूलो संख्यामा दर्ता हुने गरेका छन्।

    दूतावासले व्यक्तिगत श्रम स्वीकृति लिएर जापान आएका व्यक्तिहरूका उजुरी व्यवस्थापन गर्न कठिनाइ भइरहेको जनाउँदै यस विषयमा वैदेशिक रोजगार विभागलाई पत्राचारसमेत गरेको जनाएको छ।

    दूतावासका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नलिएका विभिन्न कन्सल्टेन्सी, संस्था तथा व्यक्तिले जापानमा रोजगारी लगाइदिने प्रलोभनमा पारेर श्रमिक पठाउने गरेको पाइएको छ। यस्ता समूहले विभिन्न प्रकारका भिसा तथा रोजगारीसम्बन्धी कागजात बनाइ व्यक्तिगत श्रम स्वीकृतिको आवेदन गरिदिने र त्यसबापत चर्को शुल्क असुल्ने गरेको उजुरी आएको विभागले जनाएको छ।

    विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले कानुनविपरीत यस्ता गतिविधि नगर्न सम्बन्धित सबैलाई सचेत गराउँदै श्रमिकलाई पनि अत्यन्त सावधानी अपनाउन आग्रह गर्नुभएको छ।

    सार्वजनिक सूचना जारी गर्दै विभागले व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जानुअघि रोजगारदाता, कागजात र प्रक्रिया राम्रोसँग जाँच गर्न तथा अवैध कन्सल्टेन्सी र व्यक्तिबाट टाढा रहन अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend