काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रधानमन्त्री पदका सम्भावित उम्मेदवारहरूसँग सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आफू पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन्। झापामा चुनावी प्रचार-प्रसारमा व्यस्त रहेका ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यो चुनौती दिएका हुन्।
ओलीले आफ्नो पोस्टमा लेखेका छन्, “पब्लिक डिबेटको लागि तयार छौँ। नयाँ/पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ।” उनले सामाजिक सञ्जालमा फ्रेमिङ गरेर प्रचार गर्ने प्रवृत्तिको आलोचना गर्दै भनेका छन्, “यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ। फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ।”
ओलीले पुराना दलदेखि नयाँ दलहरूका प्रधानमन्त्री उम्मेदवारहरूलाई लक्षित गर्दै थपे, “देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु।”
ओलीको यो घोषणाले निर्वाचनको माहोलमा सामाजिक संजालहरुमा नयाँ तरंग ल्याएको छ। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले यो अभियानलाई 'देश बनाउने' पक्षको लडाइँका रूपमा चित्रण गरेका छन्। उनले सबै पक्षलाई एउटै मञ्चमा उभिएर एजेण्डा प्रस्तुत गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा यो पोस्ट भाइरल भइसकेको छ। बौद्धिक वर्ग, युवा तथा पत्रकारहरूबाट यो मागलाई व्यापक समर्थन मिलिरहेको छ। यस घोषणापछि केही नेताहरूबाट मिश्रित प्रतिक्रिया आएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार, ओलीको यो कदमले एमालेलाई 'पारदर्शी र आत्मविश्वासी' पार्टीको छवि दिने प्रयास हो। तर, यदि अन्य प्रमुख नेताहरूले बहस अस्वीकार गरे भने यसले उनीहरूमाथि प्रश्न उठ्न सक्छ।
यो निर्वाचन अब मुद्दा र एजेण्डाको बहसमा केन्द्रित हुने संकेत देखिएको छ। ओलीको चुनौतीले मतदातालाई दलहरूका वास्तविक योजना र विगतका कामबारे स्पष्ट जानकारी दिने अवसर सिर्जना गरेको छ।
