२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • हिमाली जिल्लामा जताततै हिमपात : मध्यपहाडी...

हिमाली जिल्लामा जताततै हिमपात : मध्यपहाडी लोकमार्ग अवरुद्ध, जनजीवन प्रभावित

हिमाली जिल्लामा जताततै हिमपात : मध्यपहाडी लोकमार्ग अवरुद्ध, जनजीवन प्रभावित

सहर्ष न्युज
शनिवार, माघ ११ २०८२
सहर्ष न्युज
शनिवार, माघ ११ २०८२
  • काठमाडौं । हिमाली जिल्लामा जताततै हिमपात परेको छ । हिमाली जिल्लामा परेको हिमपातले जनजिवन प्रभावित भएको छ भने ठाउँ–ठाउँमा बाटो अबरुद्ध भएको छ । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

    लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौँबाट छुटेका बसहरू फसेको भन्ने खबर आएसँगै इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो । अहिले पनि निरन्तर रूपमा हिमपात भइरहेको उहाँले बताउनुभयो ।

    फसेका गाडी र यात्रुहरूको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । स्काभेटर लगाएर हिउँ पन्छाउने र बाटो खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताउनुभयो ।

    रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा गए रातिदेखि हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ । हिमपातका कारण चिसोले मानिसहरूको जनजीवन प्रभावित भइरहेको छ भने लामो समयको अन्तरालमा भएको वर्षा र हिमपातको कारण किसानहरू खुसी भएका छन् । आकाशेपानीको भरमा खेती गरिरहेका किसानको पानी नपर्दा गहुँ बाली सुकिसकेको थियो । लामो समयपछि पानी पर्दा खेतीपातीलाई राहत मिलेको सिस्ने गाउँपालिका–५ का विमल बिसीले बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend