काठमाडौं। पूर्व काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नं. ३ मा प्रतिनिधिसभा निर्वाचनको मैदानमा उत्रिएका छन्। फागुन २१ गते हुने निर्वाचनमा उनको अभियानले स्थानीयवासीहरूमा उत्साह जगाइरहेको छ। सुरक्षा क्षेत्रमा लामो समय बिताएका पाण्डेले भ्रष्टाचारमुक्त राज्य, सुशासन र झन्झटरहित सार्वजनिक, सेवा, अपराध नियन्त्रण र नागरिक सुरक्षा, शहरको सुरक्षा, सुशासन, युवा रोजगारी र नागरिकमैत्री सेवा जस्ता मुद्दालाई मुख्य एजेन्डा बनाएका छन्।
काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दा पाण्डेले ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण र नागरिक सुरक्षा सुधारमा महत्वपूर्ण योगदान दिएका थिए। मेयर बालेन शाहसँगको निकट सहकार्यपछि आफ्नो पदबाट राजीनामा दिएर उनी पूर्ण रूपमा राजनीतिमा सक्रिय भएका हुन्। रास्वपाबाट उम्मेदवारी दर्ता गरेपछि उनले क्षेत्रका विभिन्न ठाउँमा घरदैलो, अन्तरक्रिया र सामुदायिक भेटघाटलाई तीव्र बनाएका छन्। उनि क्षेत्रका बस्तीहरूमा पुगेर नागरिकका गुनासा सुन्ने र तत्काल समाधानका योजना प्रस्तुत गर्ने - फोहोर व्यवस्थापन, ट्राफिक जाम र महिला सुरक्षा जस्ता दैनिक समस्या सम्बोधनमा जोड दिने - युवाहरूलाई रोजगारी र सीप विकासका अवसर सिर्जना गर्ने प्रतिबद्धता जस्ता कुराहरुमा चर्चा गरिरहेका छन्। बालेन शाहको समर्थन र रास्वपाको नयाँ छविले पनि उनको अभियानलाई थप बल मिलेको छ।
उनलाई स्थानीयहरूले "काम गर्ने अनुभवी व्यक्ति तर राजनीतिमा नया अनुहार" को रूपमा हेरेका छन्, जसले पुराना समस्यालाई नयाँ तरिकाले सम्बोधन गर्न सक्छन भन्ने विश्वास समाजमा जगाएको छ। तर यो क्षेत्रमा बहुपक्षीय प्रतिस्पर्धा छ। उज्यालो नेपाल पार्टीमा कुलमान घिसिङले पनि यहि क्षेत्रबाट प्रतिस्पर्दा गरिरहेका छन्। उर्जा क्षेत्रमा ठूलो योगदान दिएका घिसिङले पूर्वाधार र ऊर्जा विकासलाई मुख्य मुद्दा बनाएका छन्। उनको लोकप्रियता उच्च छ, तर पाण्डेको स्थानीय सुरक्षा र प्रशासनिक अनुभवले फरक कोणबाट मतदातालाई प्रभावित गर्दैछ।
नेपाली कांग्रेसबाट रमेश अर्यालले विकास र सामाजिक न्यायका एजेन्डा अघि सारेका छन्। पार्टी परम्परागत आधारले बलियो छ, तर पाण्डेको ताजा दृष्टिकोणले युवा मतलाई तानिरहेको छ। नेकपा एमालेबाट रमेश्वर फुयालले आर्थिक विकास र पूर्वाधारमा जोड दिएका छन्। यस क्षेत्रमा एमालेको प्रभाव छ, तर रास्वपाको वैकल्पिक राजनीतिको आकर्षण पनि बढ्दै गएको छ।
यी सबै उम्मेदवारहरूले आफ्ना मुद्दा प्रस्तुत गरिरहेका छन्, जसले निर्वाचनलाई मुद्दामुखी र रोचक बनाएको छ। पाण्डेको अभियानले यस क्षेत्रमा नयाँ ऊर्जा र परिवर्तनको आशा जगाएको छ। उनले भनेका छन्, "म काठमाडौंलाई सुरक्षित र सबैका लागि समान अवसर भएको शहर बनाउन प्रतिबद्ध छु।" निर्वाचन नजिकिँदै जाँदा यो क्षेत्रको नतिजा रोमाञ्चक बन्ने देखिन्छ।
