२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • फागुन २१ को प्रतिनिधिसभा निर्वाचन: ६८...

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन: ६८ दलका ३,४८४ उम्मेदवार मैदानमा, स्वतन्त्र १,१८७

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन: ६८ दलका ३,४८४ उम्मेदवार मैदानमा, स्वतन्त्र १,१८७

सहर्ष न्युज
बुधवार, माघ ८ २०८२
सहर्ष न्युज
बुधवार, माघ ८ २०८२
  • काठमाडौँ : आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता उत्साहजनक देखिएको छ। निर्वाचन आयोगका अनुसार दल दर्ता गराएका ६८ राजनीतिक दलका २,२९७ जनासहित स्वतन्त्र उम्मेदवारसमेत गरी कुल ३,४८४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। प्रारम्भिक विवरण भएकाले यसमा केही घटबढ हुन सक्ने आयोगले जनाएको छ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सम्बन्धित कार्यालयबाट थप रुजु भएपछि सङ्ख्यामा सामान्य परिवर्तन हुन सक्ने जानकारी दिनुभयो। “अहिले सार्वजनिक सूची प्रारम्भिक हो, जाँचबुझपछि केही फेरबदल हुन सक्छ,” उहाँले भन्नुभयो।

    महिला उम्मेदवार ३९५

    कुल उम्मेदवारमध्ये ३९५ महिला, ३,०८८ पुरुष र एक जना अन्य रहेका छन्। यस पटक स्वतन्त्र उम्मेदवारको संख्या १,१८७ पुगेको छ, जसमध्ये १,०२४ जना पुरुष छन्। उमेर समूहगत रूपमा ३६ देखि ५० वर्ष समूहका उम्मेदवारको वर्चस्व देखिएको छ। आयोगका तथ्याङ्क अनुसार २५–३५ वर्षका ५८३, ३६–५० वर्षका १,६१०, ५१–६५ वर्षका १,०९० र ६५ वर्षमाथिका २०१ जना उम्मेदवार रहेका छन्।

    जिल्लागत रूपमा सबैभन्दा कम उम्मेदवारी मुस्ताङमा चार र मनाङमा पाँच जनाको परेको छ। रुपन्देहीका दुई निर्वाचन क्षेत्रमा सबैभन्दा बढी ३५–३५ जनाको मनोनयन दर्ता भएको छ।

    कुन दलका कति उम्मेदवार?

    नेपाली कांग्रेस र नेकपा (एमाले) ले १६५–१६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छन्। नेकपा (नेकपा) ले १६४, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले १६३–१६३ क्षेत्रमा उम्मेदवार बनाएका छन्। नेपाल मजदुर किसान पार्टीले १२१, नेकपा (माओवादी) ले १३०, मङ्गोल नेसनल अर्गनाइजेसनले ११३, श्रम संस्कृति पार्टीले १०९, उज्यालो नेपाल पार्टीले १०८ र आम जनता पार्टीले १०२ क्षेत्रमा उम्मेदवारी दिएका छन्। नौ राजनीतिक दलले भने एक–एक निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएका छन्।

    निर्वाचन कार्यतालिका

    निर्वाचन कार्यतालिका अनुसार माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने छ। उजुरी जाँचपछि माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सकिने छ भने सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिने छ।

    शीर्ष नेताहरू कुन क्षेत्रबाट?

    यस पटक केही शीर्ष नेताले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। कांग्रेस सभापति गगनकुमार थापाले सर्लाही–४ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ। महामन्त्री प्रदीप पौडेल काठमाडौँ–५ र गुरुराज घिमिरे मोरङ–४ बाट उम्मेदवार बन्नुभएको छ। सहमहामन्त्री उदयशमशेर राणा ललितपुर–१ र नेता शेखर कोइराला मोरङ–५ बाट मैदानमा छन्।

    नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार बन्नुभएको छ। वरिष्ठ नेता ईश्वर पोखरेल काठमाडौँ–५, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२, सचिव महेश बस्नेत भक्तपुर–२ र निवर्तमान सभामुख देवराज घिमिरे झापा–२ बाट प्रतिस्पर्धामा छन्।

    नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट उम्मेदवार बन्नुभएको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल रौतहट–१ बाट मैदानमा उत्रनुभएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गर्नुभएको छ। वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा–५ बाट उम्मेदवार बन्नुभएको छ।

    यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३, जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखा–२ बाट उम्मेदवार बन्नुभएको छ।

    आयोगको धन्यवाद

    मनोनयन प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबैलाई धन्यवाद दिएको छ। आयोगमा आयोजित प्रेस ब्रिफिङमा कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले आगामी निर्वाचन कार्यक्रमहरू पनि सहयोगपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा व्यक्त गर्नुभयो। यस पटक प्रतिनिधिसभा मात्रको निर्वाचन भएकाले मतपरिणाम छिटो सार्वजनिक हुने उहाँले बताउनुभयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend