२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • दक्षिणी स्पेनमा भीषण रेल दुर्घटना: २१...

दक्षिणी स्पेनमा भीषण रेल दुर्घटना: २१ जनाको मृत्यु, ३० भन्दा बढीको अवस्था गम्भीर

दक्षिणी स्पेनमा भीषण रेल दुर्घटना: २१ जनाको मृत्यु, ३० भन्दा बढीको अवस्था गम्भीर

सहर्ष न्युज
सोमवार, माघ ६ २०८२
सहर्ष न्युज
सोमवार, माघ ६ २०८२
  • काठमाडौं । दक्षिणी स्पेनमा भएको रेल दुर्घटनामा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ७३ जना घाइते भएका छन्। घाइतेमध्ये ३० भन्दा बढी यात्रुको अवस्था गम्भीर रहेको स्पेनका यातायात मन्त्री ओस्कार पुयन्तेले जानकारी दिएका छन्।

    मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको रेल कोर्डोबा सहर नजिकै पर्ने आदामुज नगर आसपास दुर्घटनामा परेको हो। लिकबाट चिप्लिएर अर्को ट्रयाकमा पुगेको रेल विपरीत दिशाबाट म्याड्रिडबाट हुएल्भातर्फ आउँदै गरेको अर्को रेलसँग ठोक्किएको बताइएको छ।

    स्थानीय समयअनुसार साँझ ६:४० बजे मालागाबाट प्रस्थान गरेको रेल करिब १० मिनेटमै दुर्घटनामा परेको थियो। मन्त्री पुयन्तेले दुर्घटनालाई ‘अत्यन्तै अचम्मलाग्दो’ भन्दै उक्त ट्रयाक गत वर्ष मे महिनामै मर्मतसम्भार गरिएको जानकारी दिएका छन्।

    निजी रेल कम्पनी इर्योले सञ्चालन गरेको दुर्घटनाग्रस्त रेलमा करिब ३०० यात्रु रहेको जनाइएको छ। त्यस्तै, रेन्फे कम्पनीले सञ्चालन गरेको म्याड्रिड–हुएल्भा रेलमा करिब १०० यात्रु सवार थिए।

    दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धान सुरु भइसकेको र अन्तिम निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ।

    यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै देशले ‘गहिरो पीडाको रात’ भोग्नुपरेको बताएका छन्। स्पेनका राजा फेलिपे छैठौँ र रानी लेतिजियाले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

    फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों र युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डर लेयेनले समेत शोक सन्देश जारी गरेका छन्।

    यसअघि सन् २०१३ मा स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसियामा भएको उच्चगतिको रेल दुर्घटनामा ८० जनाको मृत्यु र १४० जना घाइते भएका थिए, जुन देशकै सबैभन्दा भयावह रेल दुर्घटना मानिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend