२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • बागलुङमा १४ हजार हेक्टर जमिन बाँझो,...

बागलुङमा १४ हजार हेक्टर जमिन बाँझो, कृषि उत्पादन बढाउन सिँचाइ अपरिहार्य

बागलुङमा १४ हजार हेक्टर जमिन बाँझो, कृषि उत्पादन बढाउन सिँचाइ अपरिहार्य

सहर्ष न्युज
आइतवार, माघ ५ २०८२
सहर्ष न्युज
आइतवार, माघ ५ २०८२
  • बागलुङ : बागलुङ जिल्लामा उपलब्ध ४६ हजार १४८ हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३० हजार हेक्टरमा मात्र खेती भइरहेको पाइएको छ । बसाइँसराइ र सिँचाइको अभावका कारण १४ हजार हेक्टर जमिन बाँझो रहेको छ भने जम्मा २५ प्रतिशत जमिन मात्र सिँचाइ सुविधायुक्त रहेको तथ्य सार्वजनिक भएको छ ।

    कृषि क्षेत्रको रुपान्तरण र व्यवसायिकीकरणसम्बन्धी अन्तरसंवाद कार्यक्रममा सरोकारवालाले उत्पादन वृद्धि गर्न सिँचाइ योजनामा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रतिनिधि ज्ञानेन्द्रराज पन्त र रामचन्द्र गौतमले जिल्लाको खेतीयोग्य जमिनको अवस्था, वर्तमान कृषि उत्पादन र आगामी आवश्यकताबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

    गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. योगेन्द्रराज रिजाल र दुर्गा लामिछानेले किसानलाई हेर्ने राज्यको दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो । किसान गर्व गर्न लायक पेशामा संलग्न भएको सन्देश प्रवाह गर्न नीति तथा योजना आयोग आवश्यक कार्यक्रम बनाउन तयार रहेको उहाँहरुको भनाइ थियो ।

    गण्डकी प्रदेशका कृषि सचिव बासुदेव रेग्मीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उत्पादन लागतको हिसाब नगरी मूल्य निर्धारण गर्ने परिपाटी घातक भएको उल्लेख गर्दै उहाँले किसानलाई व्यवसायिक, निर्यातमुखी उत्पादन र आयात प्रतिस्थापनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

    कृषि रुपान्तरण तथा व्यवसायिकीकरण सरोकार अभियानको आयोजनामा र कृषि मन्त्रालयको सहयोगमा भएको कार्यक्रममा किसानहरुले उत्पादन र बजारको यथार्थ अवस्थाबारे धारणा राखेका थिए । अगुवा किसान नारायण पौडेलले किसानप्रतिको दृष्टिकोण परिवर्तन गर्न र सल्लोभन्दा उत्पादनमूलक बिरुवा रोप्न राज्यलाई सुझाव दिनुभयो । वर, पिपल, चिउरी र बडहर जस्ता बिरुवा रोप्न सके बाँदर आतंक पनि कम हुने उहाँको भनाइ थियो ।

    युवा अगुवा सुजन सापकोटाले सिँचाइ विस्तार, बिचौलिया नियन्त्रण र युवालाई कृषिमा आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सहकारीले उत्पादनमा साथ दिनुपर्ने र राज्यले त्यसप्रति चासो देखाउनुपर्ने सिवाईसी सहकारीका कर्जा विभाग प्रमुख शालिकराम पौडेलले बताउनुभयो ।

    कार्यक्रममा संघीयतापछि स्थानीय तहमा कृषि प्राविधिकको अभावका कारण उत्पादन, बजारीकरण र व्यवसायिकीकरण प्रभावकारी हुन नसकेको निष्कर्ष निकालिएको थियो । राज्यका तीनै तहका कृषि प्राविधिक, विज्ञ र जनप्रतिनिधिको सहकार्यबाट मात्र कृषि उत्पादन वृद्धि सम्भव हुने सरोकारवालाको भनाइ थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend