झापा : मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित एउटै टोलका पाँच जनाले विद्यावारिधि (पीएचडी) हासिल गरेका छन् । एउटै विद्यालयबाट माध्यमिक तह पूरा गरेका यी पाँच जनाको सफलताले स्थानीय तहमा शैक्षिक उत्साह थपिएको छ ।
विद्यावारिधि गर्नेमा डा. टीका भण्डारी, डा. हरिप्रसाद कट्टेल, डा. जीवनमणि पौडेल, डा. केदारमणि नेपाल र डा. डिल्लीराम भण्डारी रहेका छन् । पाँचै जनाले कवि शिरोमणि माध्यमिक विद्यालयबाट माध्यमिक तहको अध्ययन पूरा गरेका थिए भने सबैको घर एउटै वडाको एउटै टोलमा रहेको छ ।
सङ्गीतकार, गायक तथा रेडियो नेपालका पूर्वनिर्देशक डा. टीका भण्डारीले विद्यावारिधि हासिल गर्दै आफ्नो वडाको शैक्षिक पहिचान चिनाउन पाएकामा गर्व लागेको प्रतिक्रिया दिनुभयो ।
डा. हरिप्रसाद कट्टेलका अनुसार विद्यालय र गाउँको शैक्षिक वातावरणले विद्यावारिधि जस्तो उच्च तहको अध्ययन पूरा गर्न महत्त्वपूर्ण प्रेरणा दिएको हो । पाँचै जना बाल्यकालदेखि नै मिल्ने, संगै पढ्ने र पढाइमा मेहनती रहेको उहाँले बताउनुभयो । यद्यपि उनीहरूले विद्यावारिधि गरेका विषय भने फरक–फरक रहेका छन् ।
कवि शिरोमणि माध्यमिक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सङ्गीता थापाले एउटै विद्यालयका पाँच जनाले विद्यावारिधि गरेको खबरले नयाँ पुस्ताका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न प्रेरणा मिलेको बताउनुभयो ।
“एउटै वडाका, एउटै विद्यालयमा पढेका पाँच साथीले यस्तो ठूलो शैक्षिक सफलता पाउनु समग्र वडाकै लागि गौरवको विषय हो,” अध्यक्ष थापाले भन्नुभयो ।
