काठमाडौं । सन् २०२५ सम्ममा लगानी बोर्ड नेपालबाट १७ खर्ब १६ अर्ब रुपैयाँ बराबरका ५५ वटा ठूला आयोजना स्वीकृत भएका छन्। बोर्डका अनुसार अधिकांश आयोजना निर्माण चरणमा रहेका छन् भने केही परियोजनाका लागि लगानीकर्ता खोज्ने काम भइरहेको छ।
स्वीकृत आयोजनामध्ये ऊर्जा क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। ऊर्जामा ४० वटा आयोजना स्वीकृत हुँदा १३ खर्ब ३७ अर्ब रुपैयाँ लगानी स्वीकृति दिइएको छ। लगानी बोर्डले ऊर्जा क्षेत्रलाई नेपालमा सबैभन्दा सम्भावनायुक्त र लगानीकर्ताको प्राथमिकतामा परेको क्षेत्रका रूपमा उल्लेख गरेको छ।
त्यस्तै, उत्पादनमूलक क्षेत्रमा ९ वटा आयोजना स्वीकृत भएका छन्, जसमा २ खर्ब ३६ अर्ब रुपैयाँ लगानी प्रस्ताव छ। पर्यटन क्षेत्रमा २ वटा आयोजना (७१ अर्ब रुपैयाँ) र युटिलिटी क्षेत्रमा ३ वटा आयोजना (करिब ५ अर्ब रुपैयाँ) स्वीकृत भएका छन्।
पूर्वाधारतर्फ झापाको दमकमा निर्माण हुने चीन–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क एकमात्र आयोजना हो, जसमा करिब ६५ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको छ।
यी ठूला आयोजनाले आगामी दिनमा आर्थिक वृद्धि, रोजगारी सिर्जना र औद्योगिक विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ।
