काठमाडौं । सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय पारित गरेको हो।
बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७ सम्मका लागि पनि स्वीकृति दिने निर्णय भएको बताए।
प्रवक्ता खरेलका अनुसार मन्त्रिपरिषद् बैठकले मानव बेचबिखन नियन्त्रण तथा रोकथामका लागि नयाँ राष्ट्रिय नीति लागू गर्ने निर्णयसँगै आगामी पाँच वर्षका लागि वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयन गर्ने बाटो खुला गरेको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सदस्य राष्ट्रको हैसियतमा नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान स्वरूप दुई लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न पनि सरकारको स्वीकृति प्राप्त भएको छ।
यसका साथै सरकारले सन् २०२५ मार्चमा गएको भूकम्पबाट क्षतिग्रस्त म्यानमारस्थित महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण तथा गंगाघाट मन्दिर पुनर्निर्माणका लागि तीन लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
