२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • कालिका पावरले एकै वर्षमा कमायो नौ...

कालिका पावरले एकै वर्षमा कमायो नौ करोड ८४ लाख, ७ प्रतिशत बोनस सेयर घोषणा

कालिका पावरले एकै वर्षमा कमायो नौ करोड ८४ लाख, ७ प्रतिशत बोनस सेयर घोषणा

सहर्ष न्युज
मंगलवार, पौष २९ २०८२
सहर्ष न्युज
मंगलवार, पौष २९ २०८२
  • काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य नाफा कमाएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा एक करोड ३५ लाख १३ हजार ७७० रुपैयाँले नाफा बढाउँदै नौ करोड ८४ लाख २२ हजार ३५९ रुपैयाँ खुद नाफा आर्जन गरेको हो। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले आठ करोड ४९ लाख आठ हजार ५८९ रुपैयाँ नाफा गरेको थियो।

    कम्पनीका अनुसार प्रतिसेयर आम्दानी १०.५४ प्रतिशत पुगेको छ, जुन अन्य जलविद्युत् आयोजनाको तुलनामा राम्रो रहेको दाबी गरिएको छ।

    नाफाबाट सेयरधनीलाई सात प्रतिशत बोनस सेयर दिने निर्णय गरिएको छ। भरतपुरमा सोमबार सम्पन्न १८औँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको सात प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीको हालको चुक्ता पुँजी ९३ करोड ३९ लाख ४९ हजार ५०० रुपैयाँ रहेको छ। त्यसको सात प्रतिशतले हुन आउने छ करोड ५३ लाख ७६ हजार ४६५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिने सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।

    घोषित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन्। साथै कम्पनीले कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ, जसका लागि ३४ लाख ४० हजार ८६६ रुपैयाँ स्वीकृत गरिएको छ।

    कम्पनीले पछिल्ला वर्षहरूमा बोनस सेयर दर घटाउँदै आएको छ। आर्थिक वर्ष २०७९/८० सम्म १५ प्रतिशत बोनस सेयर वितरण गर्दै आएको कम्पनीले त्यसपछिका दुई वर्ष १० प्रतिशत बोनस सेयर दिएको थियो। हाल भने बोनस सेयर घटाएर सात प्रतिशतमा सीमित गरिएको छ।

    वार्षिक साधारण सभाले कम्पनीको पुँजी वृद्धि गर्न नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ। दरौदी ग्यासियर हाइड्रो अन्तर्गत २०६४ सालमा स्थापना भएको कालिका पावर कम्पनीले गोरखाको अजिरकोट गाउँपालिकास्थित दरौदी खोलाबाट विद्युत् उत्पादन गर्दै आएको छ।

    गत वर्ष मात्रै कम्पनीले तीन करोड २२ लाख ७८ हजार युनिट विद्युत् उत्पादन गरेको थियो। २०७३ सालदेखि व्यापारिक विद्युत् उत्पादन थालेको कम्पनीले ६ हजार किलोवाट क्षमताको जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ।

    कालिका पावरको सेयर संरचनामा संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको हिस्सा ३० प्रतिशत रहेको छ। साथै कम्पनीले गोरखाकै दरौदी खोलामा प्रस्तावित माथिल्लो दरौदी ‘बी’ र माथिल्लो दरौदी ‘सी’ साना जलविद्युत् आयोजनामा ५० प्रतिशत सेयर लगानी गर्ने निर्णय पनि गरेको छ। यी दुई आयोजनाबाट कुल १७.८५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend