२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • अमेरिकाले भेनेजुएलाबाट पाँच करोड ब्यारेल तेल...

अमेरिकाले भेनेजुएलाबाट पाँच करोड ब्यारेल तेल पाउने ट्रम्पको दाबी

अमेरिकाले भेनेजुएलाबाट पाँच करोड ब्यारेल तेल पाउने ट्रम्पको दाबी

सहर्ष न्युज
बुधवार, पौष २३ २०८२
सहर्ष न्युज
बुधवार, पौष २३ २०८२
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलाले अमेरिकालाई तीनदेखि पाँच करोड ब्यारेल तेल उपलब्ध गराउने बताएका छन्।

    रिपब्लिकन सांसदलाई सम्बोधन गर्दै यो तेल बजार मूल्यमा बिक्री गरिने र प्राप्त रकम दुवै देशका जनताको हितमा प्रयोग हुने बताएका हुन्।

    ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उद्योगलाई अमेरिकी लगानीका लागि खोल्न दबाब दिइरहेको छ। शुक्रबार ह्वाइट हाउसमा अमेरिकी तेल कम्पनीहरू एक्सन, शेभरन र कोनोकोफिलिप्सका कार्यकारीहरूसँग बैठक हुँदैछ।

    काराकासका अधिकारीहरूले निकोलस मादुरोलाई पक्राउ गर्न गएको शनिबारको अमेरिकी सैन्य कारबाहीमा कम्तीमा २४ भेनेजुएला सुरक्षा अधिकारी मारिएको जानकारी दिएका छन्।

    कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ट्रम्पको विरोध गर्दै भनेकी छन्, ‘व्यक्तिगत रूपमा, मलाई धम्की दिनेहरूलाई म भन्न चाहन्छु कि मेरो भाग्य उनीहरूद्वारा होइन, भगवानले निर्धारण गर्नुहुन्छ।’

    ट्रम्पले रोड्रिगेजले अमेरिकी हितअनुसार काम नगरे मादुरोभन्दा खराब परिणाम भोग्ने चेतावनी दिएका छन्।

    भेनेजुएलाका महान्यायाधिवक्ता तारेक विलियम साबले सप्ताहन्तको कारबाहीमा दर्जनौं अधिकारी र सर्वसाधारण मारिएको बताएका छन् र युद्ध अपराधको अनुसन्धान हुने जनाएका छन्।

    क्युबाको सरकारले भेनेजुएलामा काम गर्ने ३२ क्युबाली सैन्य र प्रहरी अधिकारी मारिएको पुष्टि गरेको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार कारबाहीमा सात अमेरिकी सैनिक घाइते भएका छन्। पाँच जना कर्तव्यमा फर्किसकेका छन् भने दुई जना निको हुँदैछन्। घाइतेहरूमा बन्दुकको गोली र छर्राको चोट छन्।

    भेनेजुएला सेनाको इन्स्टाग्राममा मारिएकाहरूलाई श्रद्धाञ्जली दिँदै लेखिएको छ, ‘उनीहरूको बगेको रगत बदलाको लागि होइन, न्याय र शक्तिको लागि चिच्याइरहेको छ।’

    काराकासका सडकहरूमा सरकार समर्थक प्रदर्शनहरू भएका छन्।

    तेल प्रति ब्यारेल करिब ५६ डलरमा कारोबार भइरहेको छ र यो सम्झौताबाट करिब २.८ अर्ब डलर आम्दानी हुन सक्छ। भेनेजुएलामा विश्वकै ठूलो तेल भण्डार छ तर दैनिक उत्पादन कम छ।

    ट्रम्पले मादुरो पक्राउको डेमोक्र्याटहरूको आलोचनाको विरोध गरेका छन्। उनले भनेका छ, ‘तिमीलाई थाहा छ, कुनै समयमा, उनीहरूले भन्नुपर्छ–तिमीलाई थाहा छ, तपाईंले राम्रो काम गर्नुभयो। धन्यवाद। बधाई छ।’

    अमेरिकी सर्वेक्षणमा मादुरो पक्राउबारे जनता विभाजित छन्। धेरैले भेनेजुएलाको नेतृत्व जनताले छान्नुपर्ने बताएका छन्।

    मादुरोले अमेरिकी अदालतमा लागूऔषध आरोपमा दोषी नभएको बताएका छन्। भेनेजुएलापछि ट्रम्पले ग्रीनल्याण्ड कब्जा र कोलम्बियामाथि सैन्य कारबाहीको धम्की दिएका छन्। युरोपेली नेताहरूले ग्रीनल्याण्डको सार्वभौमिकता रक्षा गर्ने बताएका छन्। एजेन्सी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend