काठमाडौं । सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दुवै देशसँग श्रम सम्झौता तथा समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री जगदिश खरेलले नेपाल सरकार र ओमान सरकारबीच हुने श्रमसम्बन्धी समझदारीपत्र (एमओयू) स्वीकृत गरिएको जानकारी दिए । साथै नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौतालाई पनि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको उनले बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लामो समयदेखि ओमान र इजरायलसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढाउँदै आएको थियो । ओमान सरकारले यसअघि नै नेपालसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दिइसकेको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले आवश्यक स्वीकृति प्रदान गरेको हो ।
यी सम्झौतासँगै ओमान र इजरायलमा जाने नेपाली कामदारको श्रम अधिकार सुनिश्चित हुनुका साथै वैदेशिक रोजगारीलाई थप व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।
