२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • पोखरा–मुग्लिङ सडक विस्तार अन्तिम चरणमा, ७४...

पोखरा–मुग्लिङ सडक विस्तार अन्तिम चरणमा, ७४ प्रतिशतभन्दा बढी काम सम्पन्न

पोखरा–मुग्लिङ सडक विस्तार अन्तिम चरणमा, ७४ प्रतिशतभन्दा बढी काम सम्पन्न

सहर्ष न्युज
सोमवार, पौष २१ २०८२
सहर्ष न्युज
सोमवार, पौष २१ २०८२
  • लेखनाथ : पोखरालाई काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ सडकखण्ड स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर सडक पूर्वी र पश्चिम गरी दुई खण्डमा विस्तार तथा स्तरोन्नति भइरहेको छ।

    आयोजनाअनुसार पूर्वी खण्डमा मादी नदीको पुलबाहेक अधिकांश काम सम्पन्न भइसकेको छ भने पश्चिम खण्डमा पहिलो चरणको कालोपत्रे पूरा भएको छ। हाल पूर्वी खण्डको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ भने पश्चिम खण्डको प्रगति ७४.४८ प्रतिशत रहेको छ।

    पश्चिम खण्डको निर्माण म्याद यही पुस १४ गते थप छ महिनाका लागि बढाइएको छ। पूर्वी खण्डको ३८.८ किलोमिटर सडकमध्ये ३७.५ किलोमिटरमा पहिलो चरणको कालोपत्रे सम्पन्न भइसकेको छ। पोखरा विश्वविद्यालयअगाडिको सडक र विजयपुर पुल आसपासको क्षेत्रमा मात्र कालोपत्रे बाँकी छ।

    आयोजनाका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ३४ किलोमिटर सडकमा दोस्रो चरणको कालोपत्रे पनि पूरा भइसकेको छ। उहाँले विजयपुर पुल र पृथ्वी चोकस्थित चाइना पुलको निर्माण प्रगति सन्तोषजनक रहेको बताउनुभयो। हाल चाइना पुलको प्रगति ५४ प्रतिशत पुगेको छ भने केही सर्भिस लेनका काम बाँकी छन्।

    पश्चिम खण्डमा तेस्रो पटक म्याद थप गरिएको हो। २०७८ जेठमा ठेक्का सम्झौता भए पनि निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ढिलाइका कारण तीन महिनापछि मात्रै काम सुरु गरेको थियो। यो खण्डको कुल लागत सात अर्ब ४० करोड ४६ लाख रुपैयाँ रहेको छ। घर, टहरा र विद्युत् पोल सार्न समय लाग्दा निर्माण कार्य प्रभावित भएको आयोजनाले जनाएको छ।

    पश्चिम खण्डमा रहेका १३ पुलमध्ये ११ पुलको निर्माण सम्पन्न भइसकेको छ। पोखरा र दुलेगौँडालगायत मुख्य बजार क्षेत्रमा सडक ४६ मिटर चौडा बनाइएको छ भने जामुनेदेखि कुम्लेखोलासम्म १८ मिटर र अन्य खण्डमा २३ मिटर चौडाइ कायम गरिएको छ।

    पूर्वी खण्ड अन्तर्गत मादी नदीको पुल निर्माण जारी छ। पुलको भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ। आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पूर्वी खण्डको सडक स्तरोन्नति कार्य लगभग सकिएको जानकारी दिनुभयो।

    ४१.४५ किलोमिटर लामो पूर्वी खण्डमा १७ वटा पुल निर्माण भइसकेका छन्। यस खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले छ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा पाएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend