फुङलिङ : ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप गरिएको छ। यसअघि सातामा दुई दिन मात्र उडान हुँदै आएको सुकेटारमा अब सातामा तीन दिन उडान हुने भएको हो।
नेपाल वायु सेवा निगम ताप्लेजुङ स्टेशनका इन्चार्ज नारायण कुमार कार्कीका अनुसार आगामी सातादेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ रुटमा बुधबार पनि उडान हुने गरी नयाँ तालिका प्राप्त भएको छ। अब सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन पटक उडान सञ्चालन हुनेछ।
यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै उडान तालिका थप गरिएको कार्यालयले जनाएको छ। केन्द्रीय कार्यालयबाट जनवरी महिनाभर बुधबार समेत उडान हुने गरी तालिका आएको इन्चार्ज कार्कीले जानकारी दिए।
विगतका वर्षहरूमा विराटनगर–ताप्लेजुङ–विराटनगर रुटमा समेत उडान हुँदै आए पनि हाल त्यस सम्बन्धमा कुनै निर्णय भइनसकेको कार्यालयले स्पष्ट पारेको छ।
कार्यालयका अनुसार ताप्लेजुङबाट काठमाडौँसम्मको हालको हवाई भाडा दर ९ हजार ४०३ रुपैयाँ तोकिएको छ।
