काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मुछिएका तीन जना उपनिर्देशकलाई सामान्य तारिखमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले भ्रष्टाचारसँग सम्बन्धित महत्वपूर्ण निर्णयमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएको ठहर गर्दै सामान्य तारिखमा रिहा गर्न आदेश दिएको हो।
अदालतका अनुसार पोखरा विमानस्थल निर्माणका क्रममा चिनियाँ कम्पनीसँग सम्झौता हुँदा उनीहरू उपनिर्देशक पदमा रहे पनि लागत बढाउने वा नीतिगत निर्णयमा उनीहरूको भूमिका प्रमाणित हुन सकेको छैन। केवल माइन्युट पुस्तिकामा हस्ताक्षर गरेकै आधारमा मुद्दा दायर भएको देखिएकाले थुनामा राख्न आवश्यक नदेखिएको अदालतको आदेशमा उल्लेख छ।
यसै मुद्दामा यसअघि अदालतमा उपस्थित भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। तर, नलिञ्चोक हेलिपोर्ट निर्माणसम्बन्धी अर्को भ्रष्टाचार मुद्दाका कारण अधिकारी हाल थुनामा रहेका छन्।
